पीएस गुरुङको पालिका क्व्होलासोंथारमा एमालेको ‘क्लिन स्वीप’

४७ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित


५ जेष्ठ २०७९, बिहीबार
Surya Prasad gurung and gamimaya gurung 20220519074954

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालिका अध्यक्ष, उपाध्यक्ष, नौं वटै वडाध्यक्ष र सबै सदस्यमा एमाले विजयी भएको हो । लमजुङमा सबै पदमा एउटै दलको ‘क्लिन स्वीप’ भएको यो एक मात्र पालिका हो ।
बुधबार राति सकिएको मतगणना अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ विजयी भएका छन् ।

प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङलाई १,०६७ मतले हराउँदै सूर्यप्रसाद गुरुङले जित हात पारेका हुन् । सूर्यप्रसादले ३,८५६ मत ल्याएका छन् । प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले २,४८९ मत पाएका छन् । अध्यक्षमा मंगोल नेश्नल अर्गनाइजेशनमा भुवरजंग गुरुङले ५१ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित सूर्यप्रसाद पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा स्वकिय सचिव थिए ।

उपाध्यक्षमा गमीमाया गुरुङ निर्वाचित भएकी छन् । कांग्रेसकी उम्मेदवार सिर्जना गुरुङलाई १,६४९ मतान्तरमा उपाध्यक्ष हासिल गरेकी हुन् । गमीमायाले ३,९८९ मत पाएकी छन् । सिर्जनाले २,३४० मत पाइन् ।

वडाअध्यक्षतर्फ वडा नं. १ मा पेमा गुरुङ, वडा नं. २ मा खुशीमान गुरुङ, वडा नं. ३ मा आशबीर गुरुङ, वडा नं. ४ मा नारायण गुरुङ, वडा नं. ५ मा गीतबहादुर गुरुङ, वडा नं. ६ मा मनलाल गुरुङ, वडा नं. ७ मा लक्षुमन गुरुङ, वडा नं. ८ मा सन्तोष घले र वडा नं. ९ मा हुमराज गुरुङसहित सबै सदस्य एमालेले जितेको निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले बताए ।

२०७४ को स्थानीय चुनावमा क्व्होलासोंथर २ र ८ को अध्यक्ष र केही सदस्य कांग्रेसले जितेको थियो । यसपल्ट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी नौं वटै वडाका ४७ जना जनप्रतिनिधि नै एमालेका उम्मेदवार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७