गठबन्धनलाई हराउँदै कैलालीका दुई पालिकामा रेशम चौधरीको पार्टी विजयी


५ जेष्ठ २०७९, बिहीबार
resham nagarik unmukti

कैलाली । कैलालीका निलम्बित सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई स्थानीय तहमा जित हात निकालेको छ ।

टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । टीकापुरमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु मेयरमा विजयी भएका हुन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा मेयरमा निर्वाचित भएका हुन ।
डगौरा ९,६४२ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी रावलले ६,६४२ मत पाए । यस्तै एमालेका श्याम खत्रीले ४,९३३ मत प्राप्त गरे । उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह निर्वाचित भएका छन् ।

शाहले ७,९५५ मत पाए । नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७,८०२ मत मात्रै पाउन सकिन् ।
२०७२ सालमा टीकापुरमा ८ जना सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीले तीन महिना अगाडि श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए ।

९ वडा रहेको टीकापुरमा कांग्रेस र माओवादी केन्द्रले ३/३, नागरिक उन्मुक्ति पार्टीले २ र नेकपा एमालेले एउटा वडा जितेको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा टीकापुरमा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको थियो । यस्तै ९ वडामध्ये ४ वडामा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), ३ मा माओवादी र २ मा एमाले विजयी भएका थिए ।

उता कांग्रेसको गढ मानिने जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टी अध्यक्ष र उपाध्यक्ष दुवैमा बाजी हात पार्न सफल भएको छ । अध्यक्षमा चित्रबहादुर चौधरी ४,९०३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बन्सराम बडायक थारुले ३,३६८ मत मात्रै ल्याउन सके । गाउँपालिकाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया विजयी भएकी छन् । उनले ४,५८९ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज बिनाडीले ३,९६१ मत प्राप्त गरे । जोशीपुरमा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७