सिन्धुपाल्चोकको पाँचपोखरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, गुन्सा तनावग्रस्त


५ जेष्ठ २०७९, बिहीबार
jhadap
सांकेतिक तस्विर

सिन्धुपाल्चोक । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका-५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ ।

दुवै पक्षबीच कुटाकुट र ढुङ्गामुडा भएपछि स्थानीयको खबरमा झडप नियन्त्रण गर्न अहिले गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी खटिएका छन् । बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुनः मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए । यसै विवाद र त्रासका कारण सहायक मतदान अधिकृत र एक गणक सुटुक्क हिंडेका थिए । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार दुवै पक्षबीचको कटुभावले झडप भएको र सुरक्षाको लागि घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ ।

बुधवार घटनास्थलमा प्रजिअ खनाल, निर्वाचन अधिकारीको टोली पुगेर विवाद मिलाएको थियो । सो क्रममा वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न गरिएको थियो । ‘मत गणना पाँचपोखरी थाङपाल गाउँपालिका भवनमा शान्तिपूर्वक भइरहेको छ, यसले त्यहाँ असर नगरे पनि झडपलाई नराम्रो रुप लिन नदिन सर्तकता अपनाइएको हो,’ प्रमुख जिल्ला अधिकारी खनालले भने । उनका अनुसार वडा नं. ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी भएका छन् ।

त्यही विषयले यहाँ तनावको स्थिति सिर्जना भएको जनाइएको छ । कांग्रेस क्षेत्र न २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेकाअनुसार बिहीवार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समूहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेका थिए ।

त्यसपछि झडपको स्थिति सिर्जना भएको थियो । पछि कांग्रेसका कार्यकर्ताले एमालेबाट नव र्निवाचित वडाध्यक्ष गोलेको घरमा ढुंगामुडा र तोडफोड गरेका थिए । एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि त्यसक्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ‘आहिले झडप धेरै हदसम्म शान्त भइसकेको अवस्था छ, नव र्निवाचित वडाध्यक्षको घरमा ढुङ्गामुडा र तोडफोड भएको कुरा छ, ती समुहलाई पनि खोजिरहेका छौँ,’ उनले भने । यसअघि मतदानको दिन यहाँ एमाले, राप्रपा लगायत दलले बुथ कब्जा गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७