बजेटका सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरियो : भीम रावल


५ जेष्ठ २०७९, बिहीबार
Bhim Rawal

काठमाडौं । संसदमा बजेटका सिद्धान्त र प्राथमिकताबारे आज (बिहीबार) पनि छलफल जारी छ । आजको छलफलमा नेकपा एमालेका नेता भीम रावलले अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकताप्रति तीव्र असन्तुष्टि जनाए ।

अर्थमन्त्रीले केवल औपचारिकता निर्वाह गर्ने र परम्परागत नीति र सिद्धान्त ल्याएको उनले बताएका छन् । उनका अनुसार देशका आर्थिक समस्या सम्बोधन गर्ने कुनै प्राथमिकता र सिद्धान्त छैन र यहाँ दिइएको सुझाव पनि गठबन्धन सरकारले नसुन्ने उनले ठोकुवा गरे । नेपालको संविधानको धारा ५१ अनुसार नीति र सिद्धान्त नआएको उनको भनाइ छ । यो नीति र सिद्धान्तले राष्ट्रिय सुरक्षा नीतिको चर्चा नै नगरेकोमा उनले असन्तुष्टि जनाए ।

उनले भने, ‘यसमा पुँजीगत खर्च बढाउने र विकास बढाउने सरकारको नीति नै देखिएन । आयातमुखी अर्थतन्त्रमै सरकारको प्राथमिकता देखियो ।’ पहिले भएका उद्योगधन्दा कौडीको नीतिमा बेचिएकोमा अहिलेको सरकारले यसलाई सुधार गर्ने नीति नलिएकोमा पनि उनले प्रश्न गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धन सरकारले आयात रोके जस्तो गरेर सुपारी आयात गर्न दिएको, विदेशी मुद्रा सञ्चिति कमजोर हुनुमा सरकार नै दोषी रहेको बताए । हाल नेपालको वैदेशिक ऋण ९ सय २८ अर्ब पुगेको, कुल ऋण बढेको बताउँदै नेता रावलले ऋण जीडीपीको साढे ४ प्रतिशत पुगिसकेको बताए ।

सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट स्तरोन्नति गर्दा देशको अर्थतन्त्रलाई कसरी उकास्ने, घाटापूर्ति गर्ने कुरा नभेटिएको भन्दै उनले नीतिगत प्राथमिकताबारे प्रश्न उठाए । त्यस्तै केही घरानीयाले सञ्चित पुँजीको दुरुपयोग गरेको भन्दै उनले पुँजी थुपार्न नदिने नीति ल्याउन माग गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७