समशेरसिंहले मनाइसके विजयउत्सव, एक हप्तापछि भेटियो गन्नै बाँकी मतपेटिका


५ जेष्ठ २०७९, बिहीबार
samser singh bardibas

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मत नै गणना नगरी वडाध्यक्ष विजयी भएको घोषणा गरेको खुलेको छ ।
बर्दिबास-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो । मतपत्रले भरिएको मतपेटिका फेला परेपछि मतगणना स्थलमा खैलाबैला मच्चिएको छ । बर्दिबास नगरपालिकाको मतगणना एक सातादेखि बर्दिबासस्थित कभर्ड हलमा चलिरहेको छ ।

सबै वडाको मतगणना सकेर बर्दिबास-९ को अन्तिम गणना चलिरहँदा ६ दिनअघि नै गणना सकेको बर्दिबास-८ को एउटा मतपेटिका भेटिएको हो । फेला परेको मतपेटिकामा कति मत छ सार्वजनिक गरिएको छैन । गएको वैशाख ३१ गते नै बर्दिबास -८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो । निर्वाचन अधिकृतले बर्दिबास-८ मा माओवादी केन्द्रका उम्मेदवार समशेरसिंह लामा एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए ।

लामाले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए । विजेताको टुंगो लागिसकेको वडाको नगनिएको मतपेटिका भेटिएपछि सर्वदलीय बैठक बस्न लागेको जनाइएको छ । बर्दिबास- ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समशेरसिंहले विजय उत्सव मनाए ।

पार्टीको बलियो पकड मानिएको बर्दिबासको मेयरमा माओवादी उम्मेदवार तेस्रो स्थानमा छ । वडाध्यक्षमा त्यस्तै परिणाम आएको बेला समशेर विजय भएकाले माओवादीले पनि खुशी साट्यो । तर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीबाट आएको फोनले माओवादी केन्द्रसँगै समशेरलाई नराम्रो झड्का दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७