बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी


६ जेष्ठ २०७९, शुक्रबार
RambahadurThapa Baglung RSS 06 1 scaled

बागलुङ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ ।

जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो । त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका राजमोको पोल्टामा परेको हो । नेकपा (माओवादी केन्द्र) ले ताराखोला गाउँपालिका र नेकपा (एमाले) ले ढोरपाटन नगरपालिका जितेका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा बागलुङका चार वटा स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा उपप्रमुख जितेको नेकपा एमालेले यस पटक ढोरपाटन नगरपालिकाको प्रमुखमा मात्रै चित्त बुझाउनु पर्‍यो । सत्तामा रहेका पाँच दल मिलेर निर्वाचनमा होमिँदा एमालेले बागलुङमा प्रतिस्पर्धामै रहेर पनि अधिकांश स्थानीय तहमा हार बेहोर्‍यो । जसको फाइदा सत्तामा रहेको ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले उठाएका छन् ।

जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङ नगरपालिकामा वसन्तकुमार श्रेष्ठ, काठेखोला गाउँपालिकामा राजु थापा, गलकोट नगरपालिकामा भरत शर्मा गैरे, बडीगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिकामा जोकलाल बुढा र निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।

यसअघि जैमिनी नगरपालिका, गलकोट नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला गाउँपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ ।

जैमिनी नगरपालिकामा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटन नगरपालिकामा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गरेका छन् । तमानखोला गाउँपालिकामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित भइन् भने बरेङ गाउँपालिकामा दिलीपकुमार पुन र ताराखोला गाउँपालिकामा भीमबहादुर रोकाले जीत हासिल गरे ।

जैमिनी नगरपालिकाको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित भए । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जिते । ताराखोला गाउँपालिकाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङ नगरपालिकाको उपप्रमुख, गलकोट नगरपालिकाको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्ष जिते भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जिते । अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।

बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जीत हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ । एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७