एन्फालाई छानविन समितिको सुझाव : मुख्य प्रशिक्षकको विकल्प खोज्नू


६ जेष्ठ २०७९, शुक्रबार

काठमाडौं । विवादको समस्या पहिचान र सिफारिस कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र व्यवस्थापक मधुसुधन उपाध्ययलाई परिवर्तन गर्न सुझाव दिएको छ ।

कार्यदलले खेलाडी र अल्मुताइरीबीचको विवादमा टिम व्यवस्थापक उपाध्ययलाई पनि दोषी ठहर गरेको छ । कार्यदलले बुधबार एन्फालाई प्रतिवेदन बुझाएको थियो । कार्यदलका संयोजक अवकाशप्राप्त मेजर जनरल तथा पूर्व खेलाडी भिक्टर राणाले अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलले २८ पृष्ठ लामो प्रतिवेदनमा ९ बुँदे सुझाव समेट्दै प्रतिवेदन बुझाएको थियो ।

वैशाख २५ गते गठित कार्यदलले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव तुलाधर, खेलाडी, मुख्य प्रशिक्षक अल्मुताइरी, टिम व्यवस्थापक लगायतसँग सोधपुछ गरेको थियो ।
एएफसी एसियन कप, २०२३ छनोटको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण १० खेलाडीले वैशाख १३ गते राति टिम बसेको होटेल छाडेका थिए । त्यसपछि उनीहरूले वैशाख १५ गते पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नुपरेको बताएका थिए । उनीहरूले आफूले टिम छाडेको नभई छाड्न लगाइएको गुनासो गर्दै आएका थिए ।

‘एकैपटक ९ जना खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटि छन् ।’

कार्यदलले बुझाएको प्रतिवेदनमा मुख्य प्रशिक्षकको सम्बन्धमा भनिएको छ, ‘मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि विदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी जस्ता क्रियाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ । यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिँदैन । तसर्थ एसिया कप छनौट प्रतियोगिता पछि कतार फुटबल संघसँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ ।’

1 4
2 2
3 2
4 2
5 3
6 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७