आठ वर्षअघि यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न समिति

घटनामा संलग्न भनिएका व्यक्तिमाथि प्रहरीले थाल्यो निगरानी


६ जेष्ठ २०७९, शुक्रबार
Basanta Bahadur Kunwar

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिँदा आठ वर्षअघि यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न पाँच सदस्यीय समिति बनेको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले घटना अनुसन्धान समिति बनाएको हो ।

उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा बनेको समितिमा एसपी कृष्णप्रसाद कोइराला, डीएसपी कोपिला चुँडाल, डीएसपी हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । गृह मन्त्री खाँणले किशोरीले सार्वजनिक गरेको भिडियोबारे आवश्यक अनुसन्धान गरी दोषीलाई सजाय गर्न निर्देशन दिएका छन् । समितिले शुक्रबारबाटै काम थालेको छ । शुक्रबार अपरान्ह एसपी कोइरालासहितको टोली किशोरीलाई भेटेर फर्किएको छ ।

उनीहरुले घटनाको बारेमा पीडितसँग जानकारी लिएको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए । ‘पीडितको घरमा पुगेर हाम्रो टोली फर्किदैछ । उहाँसँग घटनाको बारेमा जानकारी लिने र कानुनी प्रक्रियाका बारेमा कुरा भएको छ’, कुँवरले भने ।

पीडितलाई भेट्नु अघि प्रहरीले कानुनी परामर्श गरेको थियो । बलात्कारको मुद्दामा हद म्याद नाघेकाले अब कुन कसुरमा कारबाही अगाडी बढाउने भन्ने परामर्श गरेको थियो । घटनाका बारेमा जानकारी लिँदै कानुनी प्रावधानका बारेमा पीडितसँग प्रहरीले परामर्श गरेको छ ।

८ वर्षअघि घटना पीडितले टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसलगत्तै घटनामा संलग्नलाई कारबाही गर्न चौतर्फी दबाब बढेको छ । कानुन अनुसार हद म्याद नाघे पनि पीडकलाई उन्मुक्ति नदिन प्रहरीले कुन कसुर आकर्षित गर्न सकिन्छ भनेर बाटो खोजेको छ ।

यस्तै प्रहरीले घटनामा संलग्न भनिएका व्यक्ति माथि पनि निगरानी बढाएको छ । दोषीमाथि सजाय माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७