खोटाङको मत परिणाम : कांग्रेस ६, माओवादी र एमाले दुई-दुई वटामा विजयी


७ जेष्ठ २०७९, शनिबार
DipakBohara Tulsipur RSS 04 matganana

खोटाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश तथा केन्द्रका प्रभावशाली नेताहरूको वडा तथा पालिकामा फरक राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा आफ्नो गृहवडा तथा पालिकामा अर्कै पार्टीका उम्मेदवार विजयी भएपछि प्रदेशका मन्त्री तथा केन्द्रीयस्तरका नेताहरूको पार्टीभित्रै आलोचना भइरहेको छ ।

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उदिमबहादुर राई प्रमुख र नेपाली कांग्रेसका रुपेश राई उपप्रमुखमा विजयी भएका छन् । विसं २०७४ मा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा दुवै पदमा एमाले विजयी भएको सो गाउँपालिकामा यस वर्षको निर्वाचनमा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवार बनेकी कविता राई र उपप्रमुखका उम्मेदवार राजन बञ्जरा पराजित भएका छन् ।

प्रमुखमा उदिमबहादुरले तीन हजार ७२८ मत ल्याएर विजयी हुँदा कविताले तीन हजार ६९० मत प्राप्त गरेका छन् । उपप्रमुखमा जित हासिल गरेका रुपेशले तीन हजार ७६३ मत ल्याउँदा राजनले तीन हजार ३१० मत प्राप्त गरेका छन् । एमाले प्रमुख सचेतक भट्टराईको गृहवडा खोटाङ बजारमा भने एमालेका शिवप्रसाद फुँयाल विजयी भएका छन् । कांग्रेसका प्रेम थापालाई १६५ मतले पछि पार्दै एमाले उम्मेदवार फँुयाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राईको गृहपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई प्रमुखमा विजयी भएका हुन् । लोकेन्द्रले दुई हजार ८०३ मत ल्याएर विजयी हुँदा नइन्द्रले दुई हजार १६२ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसकी रमा कटवाललाई ४२१ मतले हराउँदै एमालेकै अरुणा थापामगर विजयी बनेकी छन् । अरुणाले दुई हजार ७३३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी रमाले दुई हजार ३१२ मत प्राप्त गरिन् । विसं २०७४ को निर्वाचनमा सो गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो ।

माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकाको प्रमुखमा कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् । उपप्रमुखमा भने माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई निर्वाचित भइन् । रविप्रकाशले एक हजार ८५० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार ७७२ मत प्राप्त गरेका छन् । खड्का निवर्तमान पालिका प्रमुख समेत हुन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेसका समिर राई अध्यक्षमा विजयी भएका छन् । एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राईलाई ४३६ मतले पछि पार्दै कांग्रेसका समिर राई विजयी भएका छन् । समिरले दुई हजार २४४ मत ल्याएर विजयी हुँदा माइतीराजले एक हजार ८०८ मत प्राप्त गरे । सो गाउँपालिकाको उपप्रमुखमा जनता समाजवादीका उम्मेदवार गुरुराज राईले जित हासिल गरेका छन् ।

गुरुराजले एक हजार ९८३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका मैया सुनुवारले एक हजार ७६१ मत प्राप्त गरेकी छन् । मन्त्री राईको गृहवडा बास्पानीमा भने एकीकृत समाजवादीका तुलाराम राई विजयी भए ।

एमालेकी केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री उषाकला राईको वडा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा माओवादीका खगेन्द्र राई विजयी भएका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित डिल्लीकुमार राईलाई हराउँदै माओवादीका उम्मेदवार खगेन्द्र वडाध्यक्षमा विजयी भएका हुन् ।

यस्तै कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको वडा दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुमा एमालेका भूपेन्द्र बस्नेत विजयी भएका छन् । बस्नेतले ३९५ मत ल्याएर विजयी हुँदा कांग्रेसका महेन्द्र राईले २५५ ल्याए ।

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले छ तथा माओवादी र एमालेले दुई/दुई स्थानीय तह जितेका छन् । अघिल्लो अर्थात् २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले एक स्थानीय तह जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७