गठबन्धन उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाट २३ वर्षीय युवाले जिते वडाध्यक्ष


७ जेष्ठ २०७९, शनिबार
thumb 2 1

उदयपुर । उदयपुरको कटारी नगरपालिका-८ को अध्यक्षमा २३ वर्षीय नविनकुमार तामाङ निर्वाचित भएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तामाङ कांग्रेस-माओवादी (सत्ता गठनबन्धन) का तर्फबाट माओवादीबाट उम्मेदवार बनेका कमलबहादुर श्रेष्ठलाई हराउँदै विजयी भएका हुन् ।

शनिबार सार्वजनिक मतगणनाको अन्तिम परिणममा तामाङले १२ मतको अन्तरमा निर्वतमान वडाध्यक्ष समेत रहेका श्रेष्ठलाई हराएका हुन् । तामाङले ५५३ मत ल्याउँदा माओवादीका श्रेष्ठले ५४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राउतले जानकारी दिए ।

तामाङ स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा थिए । उनले सामाजिक सजालमा व्यापक रुपमा गठबन्धनको विरोध गर्दै आएका थिए । त्यसैले उनलाई कांग्रेस पार्टीले उम्मेदवार नबनाएको स्थानीयले बताए । तामाङ काग्रेसको १४ औं अधिवेशनमा कटारी – ८ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित सदस्य हुन् ।

‘पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार दिएँ’, निर्वाचित तामाङले भने, ‘पार्टीले विश्वास नगरे पनि जनताले विश्वास गरेर जिताइ दिए ।’ अब जनताको मतलाई कदर गर्दै काम गर्ने उनले बताए । स्वतन्त्र उम्मेदवारी दिएका मध्ये अहिलेसम्म तामाङसहित उदयपुरबाट ३ जनाले विजय हासिल गरिसकेका छन् । तामाङसँगै लिम्चुङबुङ गाउँपालिका-३ बाट २८ वर्षीय गुरुमणि कुमाई र उदयुरगढी गाउँपालिका-२ बाट इन्द्रबहादुर राउत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७