हरिचौर-मल्म-दर्लिङ सडक कालोपत्र गरिने


७ जेष्ठ २०७९, शनिबार
kalopatre 1
फाइल फोटो

बागलुङ । बागलुङ क्षेत्र नं २ अन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्र हुने भएको छ । विस्तृत अध्यययन प्रतिवेदन (डिपिआर) लगत्तै उक्त सडक कालोपत्रका लागि ठेक्का लगाइएको छ ।

गलकोट नगरपालिकाकोे हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङहुँदै निसीखोला प्यूठान जोड्ने सडक कालोपत्रका लागि प्रक्रियामा गएको हो । साढे दुई वर्षभित्र आवश्यक सानाठूला पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रका लागि ठेक्का निकालेको जनाएको छ ।

उक्त सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इञ्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए । उक्त सडकलाई झण्डै रु ४० करोडभन्दा बढी लागत अनुमानका आधारमा डिपिआर तयार गरिएको थियो ।

‘डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्र गर्न ठेक्का आह्वान गरेका छौं अहिले प्रक्रियामा छ’, खड्काले भने, ‘यस क्षेत्रका सांसदले सिफारिस गरेको यस सडक ठेक्का सम्झौताको साढे दुई वर्षमा कालोपत्र भइसक्नेछ, उक्त सडक लामो भए पनि अहिले १० किलोमिटर सडक कालोपत्र गरिनेछ ।’

झण्डै ४० किलोमिटर लामो उक्त सडक पनि सुरुको विन्दुबाट काम हुँदै जाने सडक डिभिजन कार्यालयल बागलुङले जनाएको छ । लामो समय बजेट अभावले कालोपत्र गर्न ठेक्कामा जान नसकेको सडक यस क्षेत्रका संसद् तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेटको व्यवस्थापन गरेका हुन् ।

यो ठेक्काअन्तर्गत पहिलो चरणमा गलकोटको हरिचौर बजारदेखि मल्म हुँदै पाण्डवखानीसम्मको १० किलोमिटर सडक कालोपत्र हुनेछ । कालोपत्र हुँदा यहाँका नागरिकलाई यात्रामा निकै सहजता हुने गलकोट नपा-७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए । उक्त सडकको १० किमीमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्र गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७