आईएमएफबाट ऋण पाउने आशामा श्रीलङ्का


७ जेष्ठ २०७९, शनिबार
Ranil Bikramasinghe lvZ36KBghd 1

कोलम्बो । चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरकार रहेको छ ।

खाद्यान्न सङ्कटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा पर्याप्त मल खरिद गर्ने वाचा गरेका छन् । गत वर्ष अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाउन गरेको निणर्यले उत्पादनमा ठूलो ह्रास आएका बेला वर्तमान सरकारले प्रतिबन्धलाई उल्टाइदिए पनि मल आयात भएको छैन ।

यही याममा गरिने खेतीका लागि मल खरिदको समय नहुनसक्छ, तर आउँदो खेतीको याममा पर्याप्त मल खरिद एवं भण्डारण सुनिश्चित गर्न आवश्यक प्रयास थालिएको प्रधानमन्त्री विक्रमासिङ्घेले बताएका छन् । ‘परिस्थितिको गम्भीर्यलाई स्वीकार गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

श्रीलङ्काले विदेशी मुद्रा, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ र आर्थिक गतिविधि सुस्त भएका बेला यहाँको पेट्टाह बजारमा फलफूल र सागसब्जी बेचिरहेकी ६० वर्षीया सुमनावती जीवन कति कठिन छ भनेर कुरा गर्नुको कुनै अर्थ नरहेको बताउँछिन् । ‘दुई महिनामा के हुन्छ म भविष्यवाणी गर्न सक्दिन’, श्रीलङ्कालीहरूको भविष्य अनिश्चित बनेको पीडा पोख्दै उनी भन्छिन् ।

सुमनावतीको पसल नजिकै खाना पकाउने ग्यास सिलिन्डर बेच्ने पसल अगाडि लामो लाइन लागेको छ, ग्यास सिलिण्डरको मूल्यले आकाश छोएको छ । ग्यास सिलिण्डरको पसरलमा पाँच सय जना लामबद्ध भए पनि करिब त्यहाँ करिब दुईसय सिलिन्डर छन् । पाँच जनाको परिवारको भरणपोषण गर्दै आएका मोहम्मद साजली तीन दिनदेखि ग्यास पाइने आशामा लाममा बसेका छन् । आंशिकरुपमा सवारी साधन चलाएर अर्थोपार्जन गर्ने उनलाई घरव्यवहार चलाउन धौ-धौ भएको छ । उनी भन्छन् -बिना ग्यास, मट्टितेल हामी केही गर्न सक्दैनौं । अन्तिम विकल्प खाना बिना मर्ने हो ।

केन्द्रीय बैंकका गभर्नरले भने विश्व बैंकसँग ऋण लिएर इन्धन र खाना पकाउने ग्यास ढुवानीका लागि भुक्तानीको व्यवस्था गरिएको बताए पनि आपूर्ति सहज हुन सकेको छैन । आगामी दुई महिनामा मुद्रास्फीति थप बढेर ४० प्रतिशतसम्म पुग्न सक्ने बताउँदै उनले ठूलो मात्रामा आपूर्तिको दबाबले तत्काल समस्या समाधानका सङ्केत नदेखिएका जनाएका छन् ।

यो महिना खाद्यान्नको मूल्य ४६.६ प्रतिशतले बढेर मुद्रास्फीति २९.८ प्रतिशत पुगेको छ । सरकार विरुद्ध आक्रोश फैलिएपछि बिहीबार कोलम्बोमा सयौं विद्यार्थी प्रदर्शनकारीलाई पछाडि धकेल्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिरहेका छन् ।

गत हप्ता प्रधानमन्त्री पदबाट राजीनामा दिएका राष्ट्रपति राजापाक्ष र उनका भाइ महिन्दाको सरकारले पर्यटनमा आधारित अर्थतन्त्र, तेलको मूल्यमा भएको वृद्धि र लोकतान्त्रिक कर कटौतीका कारण कोभिड-१९ महामारीले देशमा आर्थिक सङ्कट उत्पन्न भएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।

सात आर्थिक शक्तिहरूको समूहले श्रीलङ्काको लागि ऋण राहत प्रदान गर्ने प्रयासहरूलाई समर्थन गरेको छ भने ऋण पुनर्संरचनाको योजना लगभग टुङ्गिएको जनाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष -आईएमएफ) ले पनि श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिक नियाली रहेको र आगामी मङ्गलबार कोलम्बोलाई ऋण उपलव्ध गराउनेसम्बन्धी वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको बताएको छ । रासस / रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७