काठमाडौंमा बालेनले ३४ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर ११८ मात्र


७ जेष्ठ २०७९, शनिबार
Balen Shah keshav esthapit and srijana singh

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका चुनावी प्रतिष्पर्धामा उत्रिएका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीचको मतान्तर घट्दै गएको छ ।

सार्वजनिक मतपरिणामअनुसार समग्र नतिजामा तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिंजना सिंहले दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितसँगको मतान्तर घटाएकी छन् । ९३ हजार ६४७ मतपत्र गणना हुँदा सिंह र स्थापितबीचको मतान्तर मात्र ११८ मत रहेको छ । तेस्रो स्थानमा रहेकी सिंहले १८ हजार ४२९ मत पाउँदा स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् । शुरुदेखि नै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अहिलेसम्म ३४ हजार १३० मत प्राप्त गरेका छन् ।

काठमाडौंका घना नेवा बस्तीमा साहको पकड कमजोर देखिँदा सिंह र स्थापितबीच भने प्रतिष्पर्धा देखिएको छ । मखन टोल, जनबहाल र महावौद्ध क्षेत्रमा स्वतन्त्र उम्मेदवार साहको यो क्षेत्रमा पकड कमजोर देखिएको छ । मतगणना जारी रहेका विभिन्न १० वडामध्ये वडा नम्बर २४, २५ र २७ मा उनी अन्य वडाको तुलनामा कमजोर देखिएका छन् ।

मखन टोल क्षेत्रमा पर्ने वडा नम्बर २४ मा गणना भएका ११ सय ४७ मतमध्ये एमालेका उम्मेदवार केशव स्थापितले २९२ मत ल्याएका छन् । कांग्रेसकी उम्मेदवार सिंहले २४३ प्राप्त गर्दा शाहको पक्षमा २१३ मत आएको छ । जनबहाल क्षेत्रमा पर्ने वडा नम्बर २५ मा खसेको कुल मतमध्ये शनिबार बिहानसम्म २ हजार १७८ मत गणना भएको छ । जसमध्ये स्थापितले ५२५, शाहले ३५१ र सिंहले ३२२ मत पाएका छन् ।

घना नेवा वस्ती मानिने जनबहालमा कांग्रेस र एमालेको लगभग बराबरी भोट छ । महावौद्ध क्षेत्रमा पर्ने वडा नम्बर २७ मा २ हजार ८६६ मत गणना हुँदा एमालेका स्थापित अग्रस्थानमा छन् । उनले ८३६ मत ल्याएका छन् । यो वडामा स्वतन्त्र उम्मेदवार ४५९ मतसहित तेस्रो स्थानमा छन् । यहाँ कांग्रेस उम्मेदवार सिंहले ७३८ मत पाएकी छन् । अहिले काठमाडौँका ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना भइरहेको छ । १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्र वडाको गणना सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७