बुटवलको मेयरमा कांग्रेसका खेलराज, उपमेयरमा एमालेकी सावित्रादेवी निर्वाचित


७ जेष्ठ २०७९, शनिबार

बुटवल । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७,५५३ मतान्तरले पराजित गर्दै बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेय निर्वाचित भएका छन् ।

पाण्डेयले ३० हजार १३० मत प्राप्त गरे । एमालेका भट्टराईले २२ हजार ५९७ मत पाए । राप्रपाका उम्मेदवारले ४,२९७ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् । एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई झण्डै ८ हजार मतान्तरले पराजित गर्दै अर्याल उपमेयरमा विजयी भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत पाए । राप्रपा उम्मेदवारले ६,५२९ मत पाए ।

बुटवलमा ६३ हजार १७ मत खसेको थियो । कांग्रेससहितको ५ दलीय गठबन्धन भएको उपमहानगरमा एमालेले जनमुक्ति पार्टीका साथ लिएको थियो । जनमुक्ति पार्टीका केही उम्मेदवारले सदस्य भने जितेका छन् । बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ ।

स्वतन्त्र, गठबन्धनबाट रुख चिन्ह लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् । जबकि ०७४ को चुनावमा यहाँ प्रमुख/उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । कांग्रेस २ वडामा मात्रै खुम्चिएको थियो ।

२०५४ देखि लालकिल्ला बनेको बुटवल उपमहानगरमा एमालेले ठूलो हार बेहोरेको छ । बुटवलमा भएको अस्थायी राजधानी दाङ लैजानु, पार्टी फुट, मोतीपुर औद्योगिक क्षेत्र मुआब्जा विवाद, चौराह गोलपार्क क्षेत्रको भताभुङ्ग राजमार्ग र मतदाताबीच कम भिजेका प्रमुखका उम्मेदवार एमालेका लागि हारका कारण बनेको विश्लेषक बताउँछन् । बुटवल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र समेत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७