आठ अध्यादेश स्वीकृत

राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण


९ जेष्ठ २०७९, सोमबार
RS KTML8994 11 scaled

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९, स्वास्थ्यकर्मी तथा सवास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई स्वीकृत गरेको हो । यी आठ वटै अध्यादेशलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ लाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट आपूर्तिमन्त्री बडूले रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ लाई पनि कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका तर्फबाट आपूर्तिमन्त्री बडूले स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार (भोलि) अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका तर्फबाट प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले निर्धारित समयभित्रै सांसदहरुलाई उपस्थितिका लागि निर्देशन समेत दिएका छन् । राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार साँझ ६ बजे बस्ने भएको छ ।

राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गरे ।

नेकपा (एमाले) का भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक-पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी ब्योहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताए ।
विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले अहिले आम जनता महँगीको मारमा परेको जनाउँदै निर्वाचनसमेत महँगो बन्दै गएको बताउए ।

उनले विगतमा भएका बलात्कारका घटनाको छानविन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्ने बताए । नेकपा (एकीकृत समाजवादी) का जयन्तीदेवी राईले दिन प्रतिदिन महिला हिंसा तथा बलात्कारका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षाको माग गरिन् । बलात्कारीलाई कानुनी कठघरामा ल्याउन कानुन परिमार्जन गर्नुपर्ने उनको माग थियो । जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले बलात्कारीलाई आजीवन सजाय हुनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी राष्ट्रियसभाका स्वतन्त्र सदस्य डा. खिमलाल देवकोटाले बलात्कार र जघन्य अपराधमा हदम्याद टराउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका गोपालकुमार बस्नेतले राज्यले स्वच्छ र पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिए । एमालेका भगवती न्यौपानेले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् । माओवादी केन्द्रका जगप्रसाद शर्माले मूल्यवृद्धि, महँगी र भ्रष्टाचार अन्त्यको माग गरे । कांग्रेसका सदस्य नारायणदत्त मिश्रले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७