पोखरामा एमालेको नाराबाजी : हाम्रो नौं भोट कसले खायो ?

रोकिएको मत गणना ७ घण्टापछि शुरु


१० जेष्ठ २०७९, मंगलवार
Narabaji by CPN UML at Pokhara1653398371

पोखरा । सात घण्टादेखि रोकिएको पोखराका तीन वडाको मत गणना फेरि शुरु भएको छ । एमालेले वडा नं. १८ मा ९ मत हराएको भन्दै फेरि मत गणनाका लागि निवेदन दिएको थियो । यही मत हराएको विषयलाई लिएर वडा नं. २२, ३२ र ३३ को मत गणनास्थल एमालेका प्रतिनिधिले छाडेका थिए ।

दिउँसो १२ बजेदेखि रोकिएको मतगणना सातघण्टा पछि शुरु भएको छ भने वडा नं. १८ को विषयचाहिँ कानुनी प्रक्रियामा लैजाने सहमति जुटेको छ । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइकाअनुसार वडा नं. १८ को विवाद ऐन अनुसार अगाडि बढाइने छ । उक्त निवेदनलाई लिएर कार्यालय गम्भीर रहेको उनले बताए ।

यो वडामा एमालेका पुष्कल थापा कांग्रेसका शिव तिमिल्सनासँग तीन मतले पराजित भएका थिए । एमालेका थापाले एक हजार ६४० मत ल्याएका थिए भने तिमिल्सिनाले एक हजार ६४३ मत ल्याएका थिए । यो वडामा चार हजार ३४८ मत खसे पनि गणनाको क्रममा चार हजार ३३९ मत मात्र भेटिएको थियो ।

एमाले पनि सहमत भएपछि अहिले वडा नं. २२, ३२ र ३३ को गणना शुरु हुन लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले माइकिङ गर्दै प्रतिधिनिलाई गणनास्थलमा बोलाएको छ । पोखरामा खसेको भन्दा गणना भएको मत कम भएपछि नेकपा एमालेका कार्यकर्ता नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।

पोखराको वडा नम्बर १८ का एमालेका नेता-कार्यकर्तासहित उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयअगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ‘खोइ हाम्रो ९ भोट, कसले खायो ?’, ‘खोइ मेरो एक मत ?’, ‘कसले खायो हाम्रो भोट ?’, ‘जनताको मतको कदर गर’ लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७