विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित


११ जेष्ठ २०७९, बुधबार
electricty
फाइल फोटो

इलाम । इलाममा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायतका दैनिक कार्य प्रभावित भएको हो ।

बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द भएको छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने सम्पूणर् काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुनसकेको छैन । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्द हुनाका कारण हालसम्म पत्ता लगाउन सकेको छैन ।

केन्द्र प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए । उनले इलाम सबस्टेशनबाट सदरमुकाम वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको बताए । बिहानदेखि विद्युत् नियमित बनाउन साँखेजुङतिरबाट आएको विद्युत् आपूर्ति गर्न पहल गरिएको विद्युत् कार्यालय इलामका प्रमुख पौडेलको भनाइ छ । ‘पटक-पटक विद्युत् आपूर्ति बन्द हुने समस्या भइरहेको छ । केवल लाइन जाँच गर्दैछौँ । फल्ट पत्ता लागेपछि मात्र समाधान निस्कन्छ’, पौडेलले भने ।

इलाममा विद्युत् नआउँदा सञ्चारकर्मीलाई समेत असर परेको छ । जिल्लामा सञ्चालित इलेक्ट्रोनिक्ससँग सम्बन्धी कार्यालय तथा सङ्घसंस्थाका काम कारबाही प्रभावित हुँदा सेवाग्राही मारमा परेका छन् । विशेष गरी राहदानी बनाउन आउने सेवाग्राहीलाई फोटो खिच्न समस्या भएको भन्दै दुई दिनसम्म सदरमुकाम आएर बस्नुपर्ने बताएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि बैंक तथा वित्तीय संस्था केहीले भने जेनेरेटर जडान गरी सेवा दिइरहे पनि महङ्गो भएको गुनासो छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७