बालेनको अपिल : विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म नगरौँ, कामपछि विजय उत्सव मनाउँला


११ जेष्ठ २०७९, बुधबार
balen shah

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् ।

साहले भनेका छन्, ‘घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’

आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपिल गरेका हुन् ।

‘ठाउँठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईहरू कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दुस्ख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ,’ उनले भनेका छन्।

बालेनको अपिल

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ। यहाँ विश्वासको कुरा छ। विश्वासमा जित वा हार हुँदैन।

जित-हारलाई मतगणना सकिएसँगै सकिदिउँ। घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ। 

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ। हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।

दोस्रो, ठाउँठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईहरू कोही पनि र्‍याली लागि काठमाडौं आउने दु:ख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ। 

अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नुहोला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ। ‘बालेन’हरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ। 

अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरू हुनेछ। हामीले हिँड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ।

हामीलाई साथ र सुझाव जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरूसँग जोडिरहेका हुन्छौँ। तपाईहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन्। 
अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौँ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७