‘अधुरा योजना पुरा गर्ने र पछाडि परेकालाई विकासको मूल प्रवाहमा ल्याउँछौ’


११ जेष्ठ २०७९, बुधबार
KN Damauli Vyassapathphoto4 scaled

तनहुँ । तनहुँको व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताएका छन् । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग आज शपथग्रहण गरेपछि न्यौपानेले अघिल्लो कार्यकालमा अधुरा रहेका योजना पूरा गर्नेतर्फ मुख्य ध्यान रहने बताएका हुन् ।

दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित न्यौपानेले एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूणर् योजना पूरा गराउने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख न्यौपानेले समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडि बढाइने बताए ।

व्यास नगरपालिकालाई दलितमैत्री नगरपालिका बनाइने न्यौपानेले घोषणा गरे । संविधान र कानूनको पालना गरेर काम गर्ने बताउँदै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताए । मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले स्थानीय तहमा पारदर्शीता, जवाफदेहीता जनप्रतिनिधिको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

सबै नागरिकप्रति अपनत्व जगाउन सफल हुनुपर्ने बताउँदै ढुङ्गानाले सबैको साझा प्रतिनिधि बनेर काम गर्न सुझाव दिए । कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले प्रमाणपत्र वितरण गरेका थिए । नगर प्रमुख न्यौपानेले आजै व्यास नगरपालिका कार्यालयमा पुगेर पदस्थापन गर्ने कार्यक्रम रहेको छ । तत्कालै न्यौपानेले उपप्रमुख दरै लगायत वडाध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७