इतिहास अनदेखा गरेर आमसञ्चार प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोड्नु आपत्तीजनक : फोनिज


११ जेष्ठ २०७९, बुधबार
fonij

काठमाडौं : सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आपत्ति जनाएको छ ।

मंगलबार संघीय संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रमको ८५ नम्बर बुँदामा आमसञ्चर क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ सञ्चालनमा ल्याइने उल्लेख छ ।
आमसञ्चार प्रतिष्ठान सञ्चालन गर्ने सरकारको नीति स्वागतयोग्य रहेतापनि प्रतिष्ठानको नाममा व्यक्तिको नाम जोड्नु गलत रहेको फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

283417616 426944872213285 1990117977939909307 n
संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठान सञ्चालन गर्ने विषय स्वागतयोग्य विषय हो । तर, व्यक्तिको नामबाट प्रतिष्ठान सञ्चालन गर्ने कुरा स्वीकार्य हुन सक्दैन । यदि, व्यक्तिकै नामबाट प्रतिष्ठान सञ्चानल गर्ने हो भने नेपाल पत्रकार संघ (हाल महासंघ)का संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठको नाममा सञ्चालन गरिनुपर्ने फोनिजको धारणा रहेको छ ।’

नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य प्रमाणित भइसकेको दावी गर्दै फोनिजले गलत तथ्यको आधारमा सरकारले कृष्णप्रसाद भट्टराईलाई नै पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा प्रस्तुत गर्न खोज्नु गलत रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली पत्रकारिता र पत्रकारजन्य संगठनको इतिहास र गरिमालाई अनदेखा गर्नु र श्रेष्ठको योगदानलाई विस्थापित गरेर भट्टराईलाई अनावश्यक जस प्रदान गरी पत्रकारलाई संगठित गर्ने पहिलो व्यक्तिको योगदानलाई नामेट पार्ने सरकारी दुष्प्रयास स्वीकार्य नहुनेसमेत महासचिव लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निहीत राजनीतिक आस्था र विचारका आधारमा कसैको इतिहास नामेट पार्ने सरकारी कदम निन्दनीय र भत्र्सना योग्य रहेको भन्दै फोनिजले निर्णय तत्काल सच्याउन नेपाल सरकार र सम्बद्ध पक्षसँग माग गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्तिसरकारले सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को गम्भीर ध्यानाकर्षण भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आमसञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने सरकारको नीति स्वागतयोग्य रहेता पनि गलत तथ्यको आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ (तत्कालीन संघ)को संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोज्नु गलत हो ।

नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य प्रमाणित भइसकेको अवस्थामा उहाँको इतिहास र योगदानलाई अस्वीकार गर्दै गलत तथ्यलाई आधार मानेर नेपाल सरकारले उनकै नाममा प्रतिष्ठान सञ्चालन गर्ने नीति अवलम्बन गरेकोप्रति फोनिज आपत्ति प्रकट गर्दछ ।

नेपाल पत्रकार महासंघ ‘नेपाल पत्रकार संघ’को विकसित रूप हो । तत्कालीन ‘नेपाल टुडे’का सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्वमा वि.सं. २००८ सालमा नेपालमा पहिलो पटक ‘नेपाल पत्रकार संघ’ गठन भएको सत्य प्रमाणित भइसकेको छ ।

नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनमा सम्पन्न भएको थियो । दोस्रो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठलाई नै सभापति चुनेको थियो । श्रेष्ठ सभापति भएको ४ वर्षपछि मात्रै २०१२ साल चैत्र १६ गते ‘नेपाल पुकार’का तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका हुन् ।

सरकारले व्यक्तिको नामबाट प्रतिष्ठान सञ्चालन गर्नु ठिक होइन । यदि, व्यक्तिकै नामबाट प्रतिष्ठान सञ्चानल गर्ने हो भने नेपाल पत्रकार संघ (हाल महासंघ)का संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठको नाममा सञ्चालन गरिनुपर्ने फोनिजको धारणा रहेको छ ।

नेपाली पत्रकारिता र पत्रकारजन्य संगठनको इतिहास र गरिमालाई अनदेखा गर्नु र श्रेष्ठको योगदानलाई विस्थापित गरेर भट्टराईलाई अनावश्यक जस प्रदान गरी पत्रकारलाई संगठित गर्ने पहिलो व्यक्तिको योगदानलाई नामेट पार्ने सरकारी दुष्प्रयास स्वीकार्य हुँदैन । निहीत राजनीतिक आस्था र विचारका आधारमा कसैको इतिहास नामेट पार्ने सरकारी कदम निन्दनीय मात्र छैन, भर्त्सनायोग्य छ । फोनिज यसको घोर भर्त्सना गर्दै नियोजित रूपमा गरिएको निर्णय तत्काल सच्याउन नेपाल सरकार र सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ ।

११ जेठ २०७९

मिलन लिम्बू

महासचिव

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७