धनकुटामा पाँच उम्मेदवारको शून्य मत, २५ जनाले कटाएनन् १० मत


१२ जेष्ठ २०७९, बिहीबार
280191884 406273534445064 5706192738109385526 n

धनकुटा । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार धनकुटाका  पाँच उम्मेदवारले एउटा मत पनि पाउन सकेनन् ।

निर्वाचन कार्यालयको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षका उम्मेदवार बनेका उनीहरुले शून्य मत प्राप्त गरेका हुन् । शून्य मत प्राप्त गर्ने उम्मेदवारहरु स्वतन्त्रदेखि पार्टीका नेता समेत छन् । प्राप्त मत परिणाम हेर्दा उम्मेदवार आफैले पनि आफैलाई मत हालेको देखिएन ।  धनकुटा नगरपालिका-२ मा स्वतन्त्रतर्फ उम्मेदवार बनेका गोविन्द निरौलाको मत शून्य आएको छ । उनको चुनाव चिन्ह गुलाफमा शून्य मत खसेको थियो ।

त्यस्तै सहिदभूमि गाउँपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका राजु थापाको पनि प्राप्त मत शून्य छ । उनले आँप चिन्ह लिएर निर्वाचनमा सहभागी बनेका थिए ।  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छथरजोरपाटी गाउँपालिका-४ को वडाध्यक्षका उम्मेदवार बनेका भुपालबहादुर तामाङले पनि शून्य मत प्राप्त गरेका छन् । उनको चुनाव चिन्ह हलो थियो ।

पाख्रिवास नगरपालिका- ८ मा वडाध्यक्षका उम्मेदवार संगितकुमार राईले पनि स्थानीय तह निर्वाचनमा शून्य मत प्राप्त गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट उक्त वडामा वडाध्यक्षका उम्मेदवार बनेका थिए । उनको चुनाव चिन्ह कलम थियो । सोही नगरपालिकाको वडा नं. १० मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार ऋषिराम पराजुलीको पनि शून्य आएका थियो । उनको चुनाव चिन्ह आँपको फल थियो ।

२५ जनाले कटाएनन् १० मत

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महालक्ष्मी नगरपालिका-४ को वडाध्यक्षका उम्मेदवार शंकरबादुर पौडेल र वडा नं. ६ को वडाध्यक्षका स्वतन्त्र उम्मेदवार टेकबहादुर कुँवरले समान ९/९ मत प्राप्त गरे ।  त्यस्तै, राप्रपाबाट पाख्रिवास नगरपालिकाको वडाध्यक्षदेखि वडा सदस्यसम्म उम्मेदवार बनेका अधिकांशले १० मत कटाउन सकेनन् ।

वडा नं. ३ को वडाध्यक्ष उम्मेदवार अशोक कटुवालले ३ मत मात्रै ल्याए । उनी राप्रपाबाट उम्मेदवारी दिएका  थिए । त्यस्तै, सोही पार्टीबाट वडा नं. ६ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद वस्तीले २ मत, ७ नं. वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर थापाले ६ मत, वडा सदस्य उम्मेदवार हरि तामाङ्गले ६ मत, ६ नं. वडाका दलित महिला सदस्य भोजकुमार परियारले ६ मात्रै ल्याए ।

राप्रपा नेपालको तर्फबाट वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार याङ्जी शेर्पाले ८ मत ल्याएका  थिए । एकीकृत समाजवादी पार्टीबाट वडा नं २ का वडाध्यक्ष उम्मेदवार भक्तबहादुर लुंगेली मगरले ९, जसपाबाट वडा नं. १ का दलित महिला सदस्यका उम्मेदवार सीता परियारले ८ मत मात्र ल्याइन् ।

धनकुटा नगरपालिका-१ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार आङदावा शेर्पाले ५ मत मात्रै प्राप्त गरे । त्यस्तै जसपाबाट वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार बनेका जितेन्द्र राईले पनि ४ मत मात्रै प्राप्त गरेका छन् । राप्रपाबाट वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार नविन गौतमले ८ मत, सोही पार्टीबाट वडा नं. १ का वडासदस्य उम्मेवार विष्णु विष्टले ६ मत प्राप्त गरे । त्यस्तै, नेकपा एसबाट वडा नं. ८ को वडाध्यक्षका उम्मेदवार रेमप्रसाद राईले पनि १ मत मात्रै प्राप्त गरे ।

छथरजोरपाटीको विभिन्न तीन वडामा वडाध्यक्षका उम्मेदवार तीनजनाले पनि १० मत कटाउन सकेनन् । राप्रपाबाट वडा नं. २ को वडाध्यक्षका उम्मेदवार ओमबहादुर कार्कीले ७ मत मात्रै प्राप्त गरे । मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट वडा नं. ५ को वडाध्यक्षका उम्मेदवार ठाकुरसिंह लिम्बू, सोही पार्टीबाट वडा नं. ९ का वडाध्यक्षका उम्मेदवार मोहनकुमार लिम्बूले समान ९/९ मत प्राप्त गरे ।

सहिदभूमि गाउँपालिकाको वडाध्यक्षदेखि वडासदस्य सम्मका ५ जना उम्मेदवारहरुले पनि १० मत कटाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा नं. २ का वडाध्यक्षका उम्मेदवार राजेन्द्र कार्कीले १ मत, वडा नं. ४ का वडाध्यक्षका उम्मेदवार जवरधन राईले ३ मत, वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रुविना सुनुवारले १० र वडा नं. ४ को वडासदस्य उम्मेदवार भीमबहादुर विश्वकर्माले १० मत मात्रै प्राप्त गरे ।

त्यस्तै, वडा नं. ५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मधुसुदन राईले ९ मत प्राप्त गरे । उनको चुनाव चिन्ह पानीको धारा थियो ।  साँगुरीगढी गाउँपालिकामा वडाध्यक्षका उम्मेदवार तीनजनाले १० मत पनि प्राप्त गर्न सकेनन् ।  वडा नं. ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार  प्रकाश राईले ५ मत मात्रै प्राप्त गरे । मंगोल नेशनल अर्गनाइजेसन पार्टीका तर्फबाट वडा नं. ६ को वडाध्यक्षका उम्मेदवार श्याममान राईले ९ मत र सोही पार्टीको तर्फबाट वडा नं. ९ का वडाध्यक्ष उम्मेदवार अरुण राईले पनि ९ मत मात्रै प्राप्त गरेका छन् । चौविसे गाउँपालिकामा भने सबै जनाले १० मत कटाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७