हुम्ला अस्पतालमा झाडापखालाका बिरामी बढे


१३ जेष्ठ २०७९, शुक्रबार
Humla Hospital

हुम्ला । हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको संख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो ।

निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिइन् । १५ शैंया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको संख्या ह्वात्तै बढेपछि १३ बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताइन् ।

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ । बिरामी बालबालिका तीन वर्ष मुनिका रहेका छन् भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उनले बताइन् ।

बिरामी बालबालिका बढेपछि अस्पतालका शैंया बिरामी र कुुरुवा आमाले भरिएका छन् । जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जटिल बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जानकारी प्राप्त भएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७