पल शाहको थुनछेक सुनुवाइ स्थगित


१३ जेष्ठ २०७९, शुक्रबार
Paul

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूणर्विक्रम शाह (पल शाह) को थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाह पक्षकै कानुन व्यवसायीले बिहीबारका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न अदालतमा निवेदन दिएका हुन् ।

शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा परेको थियो । एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।

उच्च अदालत पोखराले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी सूचीमा राखेको थियो । तर तयारी नपुगेको भन्दै निवेदककै तर्फबाट बिहीबारको पेसी स्थगित गराइएको छ । अब उक्त निवेदन उपर अर्को सुनुवाइका लागि मिति तोकिने छ ।


उक्त मुद्दामा शाहका म्यानेजर कृष्णप्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिइएको थियो । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७