विदेशी कम्पनीहरूले रुस छाडेकोमा पुटिन खुशी


१३ जेष्ठ २०७९, शुक्रबार
russia

लण्डन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विदेशी कम्पनीहरूले मुलुक छाडेर गएका देखेर आफूलाई निकै खुशी लागेको बताएका छन् । अब स्वदेशमा हुर्केका व्यापार व्यवसायहरूले तिनीहरूको स्थान लिने उनको भनाइ छ ।

साथै उनले मस्कोले अझै पनि अत्याधुनिक प्रविधि र विलासिताका वस्तुहरू हासिल गर्ने उपायहरू पत्ता लगाउने चेतावनी पश्चिम जगतलाई दिएका छन् ।

पुटिनले युक्रेनमाथिको आक्रमणलाई रुसी इतिहासको परिवर्तित बिन्दुको रूपमा प्रस्तुत गरेका छन् । उनले यसलाई सन् १९९१ मा सोभियत संघ पतन भएयता रुसलाई होच्याउँदै आएको अमेरिकाविरुद्ध मस्कोको क्रान्तिको संज्ञा दिएका छन् । युक्रेनले भने आफ्नो निरन्तर अस्तित्वका लागि लडिरहेको बताउने गरेको छ ।

युुद्धले मृत्यु र सन्त्रास फैलाएको छ । पश्चिमाले रुसलाई एक्लाउन उसमाथि प्रतिबन्ध लगाएका छन् । यसले विश्वव्यापी आर्थिक वृद्धि प्रभावित हुनुका साथै मुद्रा अवमूल्यन र खाद्यान्न, खाने तेल, मल र उर्जाको मूल्य चर्किने जस्ता समस्या देखा परेका छन् ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेयता बीपीदेखि म्याकडोनल्ड कम्पनी लगायत थुप्रै विदेशी लगानीकर्ताहरूले रुसी भूमि छाडिसकेका छन् । सोभियत संघ पतन भएपछि आएको आर्थिक विचलन यता रुसको अर्थतन्त्र अहिले सबैभन्दा बढी खुम्चिएको अवस्थामा छ ।

तर पुटिनले भनेका छन्, ‘ती विदेशी कम्पनीहरूले हाम्रो मुलुक छाडेकोमा भगवानलाई धन्यवाद दिनु पर्दछ । किनभने अब हामीले तिनीहरूको स्थान कब्जा गर्नेछौँ । हाम्रो आफ्नै व्यापार व्यवसाय र हाम्रो उत्पादन पहिल्यै हुर्किसकेका छन् । अब हाम्रा साझेदारहरूले तयार गरेका स्थानमा यिनीहरू सुरक्षित ढंगले बस्ने छन् ।’

पूर्व सोभियत गणराज्यहरूका नेताहरूसँग भिडियो लिन्कमार्फत बोल्दै पुटिनले ठट्टा गरे, ‘उत्तरार्ध-सोभियत रुसको अराजकतामा ठगहरूले मनपराएका विलासिताका वस्तुहरू जस्तै मर्सिडिज कार अझै पनि उपलब्ध हुनेछन् । बरु तिनीहरू अलि महँगो हुनेछन् । पहिल्यै मर्सिडिज ६०० एस चलाइसकेकाहरूले अझै पनि चलाउन सक्छन् । म विश्वास दिलाउँछु, तिनीहरूले जहाँबाट भए पनि ती विलासिताका वस्तुहरू ल्याउने छन् । रुसलाई अझै पनि विकसित अथतन्त्रहरूका अत्याधुनिक प्रविधिहरूको पहुँचको आवश्यकता छ ।’

तर पुटिनले रुसले कसरी पश्चिमी अवयवहरू र सफ्टवेयरको पहुँच कायम राख्ने उपायहरू पत्ता लगाउँछ भन्नेबारे केही स्पष्ट पारेका छैनन् । बरु उनले पश्चिमी जगतको रुसलाई एक्लो बनाउने प्रयास असफल हुने प्रतिबद्धता जनाएका छन् । यसैबीच रुसको केन्द्रीय बैंकले बिहीवार आफ्नो मुख्य ब्याजदर घटाएर ११ प्रतिशत पुर्याएको छ । बैंकले मुलुकको मुद्रा अवमुल्यन दरलाई घटाउने उद्देश्यले यसै वर्ष ब्याजदर अझै घटाउँदै लाने जनाएको छ । रायटर्सबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७