पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग


१३ जेष्ठ २०७९, शुक्रबार

पोखरा । पोखरा महानगरपालिकाका नव निर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दैै तीन वटा निणर्य गरेका छन् । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद् समक्ष सिफारिसका लागि अनुरोध गर्ने उनको पहिलो निणर्य छ ।

पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निणर्य गरिएको प्रमुख आचार्यले जानकारी दिए । उनले भने, ‘सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निणर्य गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निणर्य गरेका छौँ । यस निणर्य कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौं ।’

यस विषयमा पटक-पटक चर्चा र प्रतिबद्धता सङ्घीय सरकारका मन्त्रीहरूबाट भए पनि कार्यान्वयनमा नगएकाले विधिपूर्वक निणर्य गरेर पठाएको आचार्यले बताए । यसैगरी प्रमुख आचार्यले विपन्न परिवारका बच्चाहरूका लागि पोषण भत्ता उपलब्ध गराउने निणर्य गरेका छन् । वडा कार्यालयहरूबाट प्राप्त भएको सिफारिसका आधार गरिब र विपन्न परिवारका बच्चाका लागि सो रकम उपलब्ध गराइने निणर्य छ ।

यसैगरी प्रमुख आचार्यले पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’को थ्रीडीसहितको डिजाइन बनाई पेश गर्नेसम्बन्धी प्रस्ताव आह्वान गर्ने निणर्य गरेका छन् । विश्वका अधिकांश सहरमा आफ्नो अपनत्व महसुस हुने प्रतीक रहेकाले सोहीअनुसार पोखरा चिनाउने प्रतीक बनाउनका लागि देशभरिका सिर्जनात्मक क्षमता भएका युवाका लागि प्रस्ताव आह्वान गरेर एक महिनाभित्र खरिद प्रक्रिया अघि बढाइने प्रमुख आचार्यले बताए । उनका अनुसार प्रतिस्पर्धाबाट प्रतीक छनोट गरी विजेता हुनेलाई रु दुई लाख पुरस्कार प्रदान गरिनेछ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पनि पदबहालीसँगै महानगरका अपाङ्ग बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालनसम्बन्धी निणर्यमा हस्ताक्षर गरेकी छन् ।

यसैगरी महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने निणर्य उनले गरेकी छन् । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरको अन्तिम मत परिणाम बुधबार सार्वजनिक भएपछि निर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७