हारलाई पनि स्वीकार गर्नुस्, आउने चुनाव तयारी गर्न सजिलो हुन्छ : मीनेन्द्र रिजाल


१३ जेष्ठ २०७९, शुक्रबार
minendra rijal

काठमाडौं : नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूलाई हार स्वीकार गर्न आग्रह गरेका छन् । यसपालिको हारलाई पनि स्वीकार गरे अब आउने चुनाव तयारी गर्न सजिलो हुने उनको भनाई छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै स्थानीय चुनावको परिणाम स्वीकार गर्न आग्रह गरे ।

‘प्रमुख प्रतिपक्षी दलको नेता (केपी शर्मा ओली) ले सिट संख्यामा हारे पनि लोकप्रिय मत एमालेकै बढी छ भन्नुभयो। त्यस्तै चुनावका बेला अर्को पनि सुनिन्थ्यो- कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न नसकेर अरूसँग लाग्यो भन्नुहुन्थ्यो,’ उनले आज संसदमा भने, ‘अघिल्लो संसदीय चुनावमा सय सिटमा पनि लड्न नसक्ने एमाले भनेर हामीले भनिदिएको भए हुन्थ्यो। माओवादीको बुई चढेर चुनाव लड्न आएको भन्दिए हुन्थ्यो भनिएन हामीले।’

०७४ को चुनावमा प्रत्यक्षतर्फ कांग्रेसले एमालेलेभन्दा धेरै मत पाएको स्मरण पनि उनले गराएका थिए।

‘प्रत्यक्ष निर्वाचनमा पहिले चुनावमा ३५.७ प्रतिशत मत हामीले पाएका थियौं। एमालेले त ३०.७ प्रतिशत मत पाएको थियो। ५ प्रतिशतको फरक थियो। कहाँ गयो एमाले भन्दिए हुन्थ्यो,’ उनले भने, ‘कता खोज्ने एमाले भन्दिए हुन्थ्यो भनिएन हामीले। हामीले त्यति मत ल्याए पनि २३ सिट जित्यौं।’

एमाले-माओवादी सरकार बने पनि टिकाउन नसकेको उनले बताए।

‘सरकार बन्यो टिकाउन सक्नुभएन। हामीले गरेर हो त? जसको बुई चढेर चुनावमा सफलता प्राप्त गर्नुभयो उनीहरूलाई सम्मान गर्न नसकेपछि के पो टिक्थ्यो,’ उनले भने, ‘आफ्नै पार्टी टिकाउन सक्नुभएन हामीलाई भन्नुहुन्छ। त्यो हामीलाई भनिरहनुपरेन। कमसेकम आफ्नो अनुहार र रूप हेरे हुन्छ किन कुण्ठा हामीसँग पोख्ने पोख्ने। हाम्रा कारणले केही भएको होइन। यसपालिको हारलाई पनि स्वीकार गर्नुस् अब आउने चुनाव तयारी गर्न सजिलो हुन्छ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७