सात करोड ‘बार्गेनिङ’ गरेको आरोपमा पत्रकारसहित सात जना पक्राउ


१३ जेष्ठ २०७९, शुक्रबार
Pakrau1653654010

काठमाडौं । प्रहरीले धाकधम्की दिएर सात करोड माग्ने सात जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाएर सात करोड माग गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हाल गोठाटार बस्ने उदयुपरको त्रियुगा-१० का २१ वर्षीय सुजन आचार्य, बूढानीलकण्ठ बस्ने कालिकोट सान्नित्रिवेणी-८ का २९ वर्षीय टेक बिक, कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना-७ का २९ वर्षीय धर्मराज थापा, काँडाघारी बस्ने काभ्रेपलाञ्चोक तेमाल-२ का ३३ वर्षीय उमेश भण्डारी छन् ।

यसैगरी, हाल रातोपुल बस्ने धुरकोट-२ की २९ वर्षीया वसन्ता खनाल, सिनामंगल बस्ने गल्मीका ३२ वर्षीय सुरज शर्मा र सिनामंगल बस्ने काठमाडौं-९ का ३३ वर्षीय श्रवण कार्की पक्राउ परेका हुन् । भण्डारी बाहेक सबै जना पत्रकार भएको प्रहरीले जनाएको छ ।

उनीहरुले अश्लिल भिडियो बनाएर सात करोड बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनीहरुले एकजना मोडलको अश्लिल भिडियो बनाएर बार्गेनिङ गरेका थिए । सुजन, सुरज कार्की र बसन्ता एबीसी टीभीमा काम गरेर अहिले छाडेका पत्रकार रहेको बताइएको छ । धर्मराज नेपाल तारामा काम गर्छन् भने टेक विप्लव समूहका नेता भएको स्रोतले जानकारी दिएको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले शुक्रबार जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७