आयोजना आसपासका बासिन्दाका लागि राप्ती हाइड्रोको आइपिओ आउँदै


१३ जेष्ठ २०७९, शुक्रबार
IPObanking

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गर्ने भएको हो ।

आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले रुकुम पूर्वी जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

साथै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी-आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७