गणतन्त्र दिवस : ८१८ कैदीको बाँकी सजाय मिनाहा


१४ जेष्ठ २०७९, शनिबार
shital niwash

काठमाडौं । सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन् ।

सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २७१ जना र नरबहादुर साँवा समेतका ५४७ गरी कूल ८१८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागु हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै उमाकान्त पराजुलीसहित १६ जना कैदीलाई माफी दिइएको छ । ‘संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुली समेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ’, राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७