पाहुना चराले रमणीय गौशाला बजार


१४ जेष्ठ २०७९, शनिबार

महोत्तरी । दिनहुँजसो सयौंको संख्यामा थपिने पाहुना चराले महोत्तरीको गौशाला बजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ ।

नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको संख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ । लाग्दो वैशाखमै आएका पोथी पाहुना चरा गुँडमा फुल (अण्डा) पारेर स्याहार्न थालेका छन् । अहिले पनि चरा थपिने क्रम जारी नै रहेको गौशाला बजारका बासिन्दा बताउँछन् ।

अहिले परिसरभित्रका सबैजसो रुखका हाँगाबिँगा र पात झ्याप्प छोपिने गरी पाहुना चरा बसेका छन् । यिनको कलरब (कराएको) गीतको धुनझैं लाग्दा निकै रमाइलो लाग्ने गरेको गौशाला बजारका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र बताउँछन् । बाटो हिँड्ने बटुवा पनि रुखका हाँगापात छ्याप्पै छोपेर सेताम्य देखिने चराको झुण्ड हेरेर मख्ख पर्छन् ।

गौशाला बजारमा पाहुना चराको आगमन हुन थालेको करिब दुई दशक हुनै लागेको छ । वैशाख सुरु भएपछि दोस्रो साताभित्रको सेरोफेरोमा प्रहरी कार्यालय परिसरमा आउने पाहुना चरा गौशालामात्र नभएर अब जिल्लाका सबैभेगका बासिन्दाका लागि चासोको कुरा बनेको छ । ‘यहाँ नयाँ वर्ष (विक्रम सम्वतको) लागेसँगै पाहुना चरा आइनपुगे निकै सोधखोज बढ्दो रहेछ’, प्रहरी निरीक्षक मिश्र भन्छन्, ‘यसपालि पाहुना चराको बथान आइपुग्न दुई/तीन दिन ढिलाइ भएको थियो, बाटो हिँड्ने जोसुकै चराबारे सोधखोज गर्न थाले ।’ यसपालि वैशाख पहिलो सातामा पाहुना चराको पहिलो बथान परिसरमा आइपुगेको प्रनी मिश्रको भनाइ छ । पहिलो दिन दुई/तीन सयको संख्यामा आएका पाहुना चरा थपिँदै गएर अहिले पाँच हजार नाघी सकेका छन् ।

दुई दशकयता प्रत्येक नयाँ वर्षसँगै घाँटीमा पहेँलो र अन्य शरीर निख्खर सेता भएका बकुल्ला जातिका हिमाली चराले छ महिना अवधि इलाका प्रहरी कार्यालय गौशालाको परिसरलाई आफ्नो बासस्थान बनाउँदै आएका छन् । सुरुमा वैशाख सङ्क्रान्तिकै दिन पाहुना चरा आउन थालेपनि पछिपछि आउने दिनमा साता १५ दिनको फरक पर्ने गरेको गौशालावासी बताउँछन् । ‘वैशाख सङ्क्रान्तिसँगै जुडशीतल पर्व मनाइरहँदा हामी पाहुना चरा आएको हेर्न पर्खन्थ्यौं’, गौशाला नगरपालिकाकै रजखोर बस्तीका राजनीतिक/सामाजिक कार्यकर्ता अजय कुशवाहा भन्छन्, ‘यसपालि भने पाहुना चरा पाँच दिन ढिलो आए ।’ वैशाख सङ्क्रान्तिसँगै पाहुना चराबारे चियोचर्चा हुने यस भेगको चलन नै बसिसकेको कुशवाहाको भनाइ छ ।

केही सयबाट आउने क्रम थाल्ने यी चराको सङ्ख्या पाँच साताभित्र पाँच हजार पुगेको छ । छ महिनापछि फर्कने बेलामा भने आफ्ना जहान बढाएर १५ हजार पुर्‍याउने गरेका दैनिकजसो यी चराको गतिविधि नियाली रहने गौशालाका व्यापारी बताउँछन् । वैशाखमा आउने यी चरा असोजमा फर्कने गरेका छन् । यहाँको बसाईमा पाहुना चराले तीन छिमल बच्चा कोरल्दा यहाँ आएका चराको संख्या फर्कने बेलासम्म तेब्बर पुग्ने गरेका गौशाला बजारका चियापसले मीना साह बताउँछिन् ।

यी चरालाई कतिले साइबेरियन र कतिले नेपालकै हिमाली भेगका बताउने गरेका छन् । लामो समयदेखि वनवातावरण र जङ्गली पशुपंछीबारे अध्ययन, अनुसन्धान गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादबले हिउँदमा हिमाली भेग जाँदा यस्तै चरा देखिएकाले यी मुलुककै हिमाली भेगका चरा हुनसक्ने बताउँछन् । यता लामो समय रुसमा बसेर त्यहीँबाटै उच्च शिक्षा सकेर फर्किएका जिल्लाकै भङ्गाहा नगरपालिका-५ राजपुरका मधु ढङ्गाना भने गौशालामा आएका पाहुना चरा साइबेरियन नै भएको बताउँछन् । ‘साइबेरियाका बकुल्ला एक्ला दुक्लै बस्दैनन्’, ढुङ्गानाले भने, ‘अहिले यहाँ आएका पाहुना चराको बसाइ, रङरुप र कराइ ठ्याक्कै साइबेरियन बकुल्लासँग मिल्छ ।’

पाहुना चराबारे समान धारणा नदेखिए पनि गौशालामा भने यी पाहुनाचरालाई ‘साइबेरियन बकुल्ला’ नै भन्ने गरिएको छ । करिब दुई दशकदेखि गौशालाकै प्रहरी कार्यालय परिसरलाई नै बस्ने ठाउँ रोजेका यी पाहुना चरा तातो वातावरण बच्चा हुर्काउन अनुकूल हुनाले सन्तान वृद्धिकै लागि यहाँ आउने गरेका कुरामा भने विज्ञहरु सहमत देखिन्छन् ।

सुरुसुरुका वर्षमा त पाहुना चरा हेर्न नै टाढाटाढाबाट सर्वसाधारण आउने गर्थे । अब यो क्रम पातलिए पनि गौशाला बजारको परिचयमा पाहुना चरा थपिएका स्थानीय शिक्षक पुरुत्तोम अधिकारी बताउँछन् । नदी किनारको छिपछिपे पानी भएको ठाउँ र वरपरका पोखरी पाहुना चराले चरण क्षेत्र बनाएका छन् । पानीमा तैरिने लेउ, साना भुरा माछा र किरा फट्याङ्ग्रा नै पाहुना चराको आहारा हुने गरेको छ ।

यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मिश्र भने पाहुना चराको रेखदेख, संरक्षण र हेरचाहमा समुचित ध्यान दिइँदै आइएको बताउँछन् । ‘हामीले पाहुना चराको सक्दो हेरचाह गरेका छौं’, प्रनि मिश्रले भने, ‘गुलेली चलाउने, चरा जिस्क्याउने र घुँयत्रो हान्ने जस्ता चरा बिच्क्याउने काम परिसरभित्र पूणर्वर्जित छ ।’ यद्यपि यहाँ आउने चराका विविध पक्षबारे अध्ययन अनुसन्धान हुनुपर्ने आवश्यकता औल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७