सार्वजनिक संस्थानको नाफा ४५.४२ प्रतिशतले घट्यो, २२ नाफा र १९ घाटामा


१४ जेष्ठ २०७९, शनिबार
Nepal Oil Corporation scaled

काठमाडौँ : अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको खुद नाफा घटेको छ । सरकारले शनिबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा स्थिति २०७९ अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७७/७८ तुलनामा मा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक संस्थानहरुबाट गत आर्थिक वर्षमा जम्मा ६ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कम हो ।

आर्थिक वर्ष २०७७/७८ मा पनि विश्वव्यापीरूपमा फैलिएको कोभिङ–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थाका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा समेत केही संकुचन आएता पनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति भने सन्तोषजनक रहेको सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको जनाइएको छ । त्यसैगरी संस्थानहरुको सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६.३६ प्रतिशतले कमी आई २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँबराबर कायम भएको छ ।

हाल संचालनमा रहेकामध्ये २२ संस्थान नाफा र १९ संस्थानले घाटा व्यहोरेका छन् भने बाँकीको कारोबार शून्य रहेको देखिएको छ । हाल जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै छन् ।

नोक्सानीमा संचालन भइरहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नासाईट प्रा. लि. बुटवल धागो कारखानाको व्यावसायिक कारोबार भएको छैन भने नेपाल रेल्वे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७