धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई


१५ जेष्ठ २०७९, आईतवार
MG 6802 0

कैलाली । धनगढीमा जारी टी-२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत भएको फाइनल खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीले उपाधि जितेको छ ।

धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु एक लाखमा चित्त बुझायो ।

टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रन बनाएको थियो । एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा ११८ रनमात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए ।

बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्वपूणर् चार विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान दुई-दुई तथा राहुल भण्डारी र विकास आग्रीले समान एक-एक विकेट लिए । त्यसअघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए ।

महेन्द्रनगरका राहुल भण्डारी, हेमन्तधामी र विकास आग्रीले समान १३-१३ रन बनाए । बलिङतर्फ लिटल फ्लावरका कृष्ण कार्कीले तीन, दीपक बोहरा र कुशल रुपाखेतीले दुई-दुई तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान एक-एक विकेट लिए । फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ सन्तोष भट्ट घोषित भए ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढी क्रिकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडीसमेत बन्न सफल भए । उनीहरूले जनही रु सात हजार ५०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यही जेठ ६ गतेदेखि सुरु भएको टी-२० क्लब क्रिकेट प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब कैलाली र कैलाली जिल्ला क्रिकेट क्लबले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७