पर्यटकीय पूर्वाधार निर्माणपछि दुरुलेकमा पर्यटक आगमनमा वृद्धि


१५ जेष्ठ २०७९, आईतवार
Untitled 3

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ । गण्डकी प्रदेश सरकार र मालिका गाउँपालिकाको गरी करिब रु ३० लाखको लागतमा पदमार्ग, सत्तल, मन्दिरलगायत पर्यटकीय पूर्वाधार निर्माण भएपछि दुरुलेक पर्यटकीय गन्तव्य बनेको हो ।

बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउन थालेका हुन् । गण्डकी प्रदेश सरकारको थप रु १० लाख बजेटबाट पर्यटक बस्ने घर निर्माण गरिएपछि बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ । समुन्द्री सतहदेखि तीन हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमश्रृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि यहाँ पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा दुरुलेक महत्वपुणर् रहेको स्थानीय श्याम पुन बताउँछन् ।

दुरुलेकमा लालीगुरासँको घनाजङ्गल, दर्जनौँ हिमालको दृष्य तथा म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीका डाडाँकाडा हेरेर रमाउन पर्यटक आउने गरेका छन् । धौलागिरि, अन्नपूणर्, निलगिरिलगायत हिमाल नजिकबाट देख्न पाइन्छ ।

प्राकृतिक दृष्यसँग रमाउन आउने पर्यटकलाई दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले सहज भएको छ । पर्यटकलाई मठ्ठा चढाउने भीरले पनि थप आकर्षित गरेको छ । वसन्त ऋतुसँगै लालीगुराँस फुल्ने हुँदा पर्यटक दुरुलेक पुग्छन् । पर्यटकको बसाइ लम्ब्याउन पूर्वाधार निर्माणमा जोड दिन स्थानीय सरकारले गुरुयोजना निर्माण गर्नुपर्ने स्थानीयवासी नरबहादुर पुन बताउँछन् ।

सदरमुकामदेखि मालिका गाउँपालिकाको केन्द्र दरवाङ हुँदै अधिभारा, फूलबारी, डाडाँगाउँ, निस्कोट, रुम जैम, घाङ्लेपानीसम्म सवारीसाधनमा यहाँ पुग्न सकिन्छ । घाङ्लेपानीबाट करिब पाँच घण्टामा लालीगुरासँको घनाजङ्गल हुँदै गाईभैँसी र भेडाबाख्राका गोठ, वन्यजन्तुको अवलोकन र आवाज सुन्दै पदयात्रामार्फत दुरुलेकमा पर्यटक पुग्छन् ।
‘गुरासे जङ्गलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ’, मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले भने । यहाँ गाईभैँसी र भेडाबाख्राका लागि गोठको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७