बलिदानीपूर्ण संघर्षको प्रतिफल आजको गणतन्त्र : सभामुख


१५ जेष्ठ २०७९, आईतवार
agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । उनले बलिदानीपूर्ण संघर्षको प्रतिफल आजको गणतन्त्र भएको पनि बताएका छन् ।

गणतन्त्र दिवस-२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए ।

गणतन्त्र दिवसका अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त गर्दै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७