ताराको सम्पर्कविहीन विमान खोज्न पठाइयो हेलिकोप्टर


१५ जेष्ठ २०७९, आईतवार
Tarat1653802373

काठमाडौं । हराइरहेको ताराको ट्विनअटर विमान खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिएका छन् ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार पोखरा र मुस्ताङबाट छुट्टाछुट्टै टोली खटाइएको छ । लेते पाससम्म विमान आफूहरुको निगरानीमा रहेको र त्यसपछि सम्बन्ध विच्छेद भएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखी खोजी र उद्धार गर्न थालिएको छ । केहीबेरमा काठमाडौंमा नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने बताइएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ः५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए । पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको पुष्टि गरे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७