‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, हामी लोकेसन ट्रेसिङ गरिरहेका छौं’


१५ जेष्ठ २०७९, आईतवार
mustang

काठमाडौं । सम्पर्कविहीन तारा एयरको ‘अल्फा इको ट्यांगो’ कल साइनको विमानका पाइलटको मोबाइल नेटवर्क चलिरहेको पाइएको छ । विमानका पाइलटको मोबाइलमा घण्टी गइरहेको पाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।

उनले जहाज खोजी कार्यलाई तीव्रता दिइरहेको बताए । ‘स्थल र हवाइ मार्गबाटै खोजी गरिरहेका छौं । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । हामीले त्यही अनुसार लोकेसन ट्रेसिङ गरिरेहका छौं’, उनले भने । धौलागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको उनले बताएका छन् । कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, चार भारतीयसहित दुई जना अन्य देशका नागरिक थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एक पटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरी हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन । अहिले स्थल मार्गबाट पनि जहाजको खोजी कार्य तीब्र बनाइएको छ । हराइरहेको जहाजको खोजीका लागि हेलिकोप्टर पठाइएको भए पनि सो क्षेत्रको मौसम प्रतिकूलताका कारण समस्या भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७