दुई नम्बर प्रदेशमा प्रहरी नेतृत्वविहीन


१४ चैत्र २०७४, बुधबार
bijaylal kayastha

काठमाडौं, १४ चैत । दुई नम्बर प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी नेतृत्वविहीन छ । २ नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थ जागिर अवधि १५ दिन पनि बाँकी नभएपछि बिदा बस्ने निवेदन दिएर काठमाडौंमा छन् । सामान्यतया अवकाश हुनु एक महिनाअघि बिदा बस्ने प्रचलन छ ।

bijaylal kayastha
एआइजी विजयलाल कायस्थ

अवकाश हुने बेलामा मातहतका प्रहरी अधिकृतले निर्देशन समेत नमान्ने भएपछि उनी अवकाश बिदाको निवेदन दिएर काठमाडौंमै बसेका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालयमा डीआइजी समेत छैनन् । एआइजी कायस्थले २ नम्बर प्रदेशमा तस्करीको लाइन चलाएर पैसा असुली गरेको भनी विवादमा परेका थिए ।
संघीय इकाई प्रहरी कार्यालय जनकपुरका प्रमुख एसएसपी सुवास चौधरी पनि काठमाडौंमै छन् । उनी डीआइजी बढुवा हुनका लागि मन्त्री र नेताकोमा दबाब दिइरहेका छन् । उनी डीआइजी बढुवा नभए एसएसपीको ६ बर्षे पदावधिका कारण यही चैत २६मा अवकाश हुनेछन् । डीआइजी बढुवा भए आगामी २०७५ असारसम्म उनले जागिर खान पाउनेछन् ।
संघीयता कार्यान्वयनमा नआउँदै हरेक प्रदेशमा नेपाल प्रहरीले अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) खटाएको थियो । तर पछि प्रदेश प्रमुखमा एआइजीको दरबन्दी कटौती गरी डीआइजी नै कायम गरिसकिएको छ । तर खटाइसकेका एआइजीहरुको हकमा भने फिर्ता नबोलाउने नीति सरकारले राखेको थियो । अहिले खटिएका एआइजीहरु चैत २८ मा अवकाश भएपछि प्रदेशमा डीआइजीहरु प्रदेश प्रमुख हुनेछन् ।
२ नम्बर प्रदेशमा प्रहरीको नेतृत्व विहीन भएकोबारेमा प्रहरी प्रवक्ता मनोज न्यौपानेसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले बिदामा आउनुभएको होला, बुझेर जवाफ दिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७