विराटनगर महानगरपालिकाको कार्यपालिकामा गठबन्धन पराजित, एमालेको एकल बहुमत


२१ जेष्ठ २०७९, शनिबार
biratnagar metropolitan

विराटनगर : विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । कार्यपालिका निर्वाचनमा ६ जना सदस्य एमालेका निर्वाचित भएपछि एमालेको एकल बहुमत पुगेको छ ।

शनिबार भएको कार्यपालिका निर्वाचनबाट एमालेका ६ जना निर्वाचित भएपछि २९ सदसिय कार्यपालिकाका एमालेको संख्या १६ पुगेको हो । कार्यपालिकाको निर्वाचनमा एमालेबाट अल्पसंख्यकका उम्मेद्वार एकजना र महिला उम्मेद्वार ५ जना निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका हुन् । अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरी पराजित भए ।

महिलातर्फ सबै (पाँचजना) एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका कमला श्रेष्ठ, ५५, सन्तलीदेवी विश्वास ५५, सरिता घिमिरे नेपाल ५३ ताराकुमारी राय ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाए ।

कार्यपालिका निर्वाचनमा मतदाता हरेका ९७ सदस्यमध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भए ।

मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् । कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।


महानगरमा एमालेले उपमेयरसहित ४३ र काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७