झलनाथ खनालको क्षेत्रमा कांग्रेस विरुद्ध एमाले र एकीकृत समाजवादीको गठबन्धन


२३ जेष्ठ २०७९, सोमबार
Ilam

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रको प्रमुख पालिका सूर्योदय नगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धन विजयी भएको छ।

नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले सत्तारुढ गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेस विरुघ गठवन्धन गरेको हो ।

सूर्योदय नगरपालिकाको कार्यपालिकामा कार्यपालिकाको महिला, दलित र अल्पसंख्यक सदस्यमा एमाले र नेकपा (एस)ले तालमेल गरी बहुमत ल्याएका हुन्।

नगर कार्यपालिका सदस्यमा एमाले र नेकपा (एस)ले ४/४ सदस्यको भागबन्डा गरेकामा सबै निर्वाचित भएका छन्।

सदस्य महिलामा केशरकुमारी पौडेल, चन्द्रकला परियार, सावित्रा शिवा र लतादेवी गौतम अधिकारी र लामु शेर्पा ३८–३८ मत ल्याएर विजयी बने।

दलित तथा अल्पसंख्यक सदस्यमा चित्रकला बराइली र ख्यामबहादुर भुजेल ३८–३८ तथा सोनामछिरिङ लामा ३९ मतसहित विजयी भए। नेपाली कांग्रेसका सबै उम्मेदवार पराजित भए।

सूर्याेदय नगरका १४ मध्ये ७ वटा वडामा कांग्रेस, ५ वटामा नेकपा (एस) र २ वटा वडाको अध्यक्ष एमालेले जितेका छन्। कार्यपालिका सदस्यका लागि मतदान गर्ने ७२ जना निर्वाचितमध्ये कांग्रेसका ३४, नेकपा (एस)का २० र एमालेका १८ जना थिए। एमाले र नेकपा (एस)बीच गठबन्धन भएपछि कार्यपालिका सदस्य छान्न ३८ मत थियो भने कांग्रेसको ३४ थियो।

वैशाख १० को निर्वाचनमा सूर्याेदय नगरको मेयरमा नेकपा (एस)का रणबहादुर राई र उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल निर्वाचित भएका छन्। उनीहरू सत्ता गठबन्धनबाटै विजयी बनेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७