राई समुदायबाट सरकारी सेवा प्रवेश गराउन १० लाखको पुँजीकोष निर्माण


२३ जेष्ठ २०७९, सोमबार
rai goverment servent

काठमाण्डौं, २२ जेठ । किरात राई कर्मचारी मञ्चले किरात राई समुदायबाट सरकारी सेवा प्रवेशमा अभिबृद्धि गराउन १० लाख रुपैयाँ राशीको पुँजीकोष निर्माण गरेको छ ।

किरात राई कर्मचारीहरुको साझा संगठन मञ्चले किरात राई यायोख्खाको सुम्निमा हल काेटेश्वरमा आइबार एक कार्यक्रम गरी पुजीँकोष र मुखपत्र ‘ईमोल्याम’ सार्वजनिक गरेको हो । मञ्चले कोटेश्वरमै केन्द्रीय कार्यलयको समेत उद्दघाटन गरे ।

मञ्चका अध्यक्ष खिलराज राईले पुँजीकोष निर्माण किरात राई समुदायको निजामती, सुरक्षा, सार्वजनिक संस्थान, प्रदेश तथा स्थानीय सेवा लगायत विभिन्न सरकारी सेवाको विभिन्न पद, तह र श्रेणीमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए ।

उनले भने,‘स्थायी सरकारको रूपमा चिनिने नेपालको सार्वजनिक प्रशासनमा हामी आदिवासी जनजाति किरात राई समुदायको सहभागिता अत्यन्त न्यून संख्यामा छौँ । यसमा हाम्रो समुदायको संलग्नता हुनु जरुरी देखिन्छ । यसैका लागि लोक सेवा आयोगले लिने परीक्षा लगायतका अन्य सरकारी सेवाहरु प्रवेश उतीर्ण गर्न हाम्रो समुदायलाई सक्षम बनाउन पुँजी कोष निर्माण गरेका हौँ ।’

यस्तै पुँजीकोषले किरात राई समुदायका राष्ट्रसेवक कर्मचारीहरुको वृत्ति विकासमा, कर्मचारीहरुको तथ्यांक व्यवस्थापन, समुदायको सशक्तीकरण, उत्थान र विकासमा समेत सहयोग गर्ने उनले बताए ।

मञ्चका सचिव अबिलाल राईले पूँजिकोषमा न्युनत्तम ५० लाख रुपैया रकम जम्मा गर्ने लक्ष्य रहेको भए तापनि स्थापनाको शुरुवाती चरणमा १० लाख रूपैयाँको सार्वजनिक गरिएको जानकारी दिए । उनले भने,‘ हाम्रो पूँजिकोषमा न्युनत्तम ५० लाख रुपैयाँ रकम जम्मा गर्ने लक्ष्य छ । अहिले निर्माण गरिएको १० लाख पुँजीकोषको रकम पनि मुद्धती निक्षेपमा रुपान्तरण हुनेछ ।’

यस पुँजीकोष निर्माण अहिले सरकारी सेवामा कार्यरत रहेका कर्मचारीहरुको सहयोग मार्फत निर्माण गरिएको उनले बताए । उनले सहयोग गर्ने सबै प्रति धन्यवाद समेत व्यक्त गरे ।

नेपाल सरकारकाे सहसचिव पदमा बढुवा भएका प्रदिप राई, पाइलट रोइन राईलाई सम्मान प्रदान गरे । कार्यक्रममा किरात राई यायोख्खा कार्यबाहक अध्यक्ष जीवन हताछो, लोकसेवा आयोगको सदस्य वीर बहादुर राई, किरात राई विद्यार्थी संघका अध्यक्ष जीतेन राई, थुलुङ सामा प्रतिष्ठानका निर्कुधन राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७