हवाइ उडान नियमित नहुँदा सिजनमै ढुवानी भएन निर्माण सामग्री, काम ठप्प


२४ जेष्ठ २०७९, मंगलवार
Simkot airport Humla

हुम्ला । हुम्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा नियमित नहुँदा निर्माण सामग्री ढुवानी ठप्प भएको छ । निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट उडान नभर्दा सिजनको समयमा ठेकेदार कम्पनीलाई काम गर्न थप समस्या बनाएको छ ।

सिमकोटमा निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी नभएपछि तत्काल समस्या समाधानका लागि पहल गरिदिन सिमकोट गाउँपालिकालाई हुम्ला निर्माण व्यवसाय सङ्घले आग्रह समेत गरेको छ । एक मात्र हवाई मार्ग भएकाले र चार महिनादेखि जहाज नचलेकाले निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी हुन नसकेको हो ।

असार मसान्त नजिकै आउन लाग्दा निर्माण सम्पन्न हुन लागेका योजना समस्यामा परेको हुम्ला निर्माण व्यवसायी सङ्घका सचिव बुद्ध रोकायाले बताए । हुम्ला निर्माण व्यवसायी सङ्घले जिल्लाभित्र सञ्चालन भएका निर्माण कार्य निर्माण व्यवसायीको काबुभन्दा बाहिर भएकाले समयमै सम्पन्न नहुने देखिएको भन्दै आयोजनाका समस्या बुझी सम्बन्धित निकायमा पहल गरिदिन गाउँपालिकालाई आग्रह गरेको छ ।

नेपालगञ्ज र सुर्खेतमा रोकिएका निर्माण सामग्री जहाजबाट सिमकोटमा भित्र्याउन कोशिस गरे पनि सबै निजी कम्पनीका जहाज पूर्वमा उडान भरेपछि समस्या भएको हो । नेपालगञ्ज र सुर्खेतबाट आयात गर्नुपर्ने निर्माणका सामग्री ल्याउन नसक्दा अधिकांश योजनाका काम प्रभावित भएका छन । सहरीय क्षेत्रमा पाउने सिमेन्ट, छड, सिँचाइका पाइपलगायत सामग्रीहरु ढुवानी हुन नसकेपछि अब छ महिनापछि धकेलिने छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा हुम्लामा महँगो भाडा तिरेर जहाजमार्फत निर्माणका सामग्री र दैनिक उपभोग्य सामानको ओसार्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७