काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइँदै


२४ जेष्ठ २०७९, मंगलवार
fohor ktm

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आज (मंगलबार) बाट उठाइने भएको । सिसडोल र बञ्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।

शहरी विकास मन्त्रालयमा सोमबार मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बञ्ञचरेडाँडा लैजान दिने सहमति भएको हो । सहमतिअनुसार बञ्चरेडाँडामा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा शहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न पाँच वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गरिएको छ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।

जग्गा अधिग्रहण सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सोही प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया शुरु गर्ने सहमति भएको छ । यस्तै धुनिवेंसी नगरपालिका १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रमा स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बिमा वोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य विमा गर्ने सहमति भएको छ ।

धुनिवेसी नगरपालिका १, ३, ४ र ककनी गाउँपालिका १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने फोहोरलाई स्रोतमै छुटयाउने प्रक्रिया शुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहोरलाई अहिल्यकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाई लैजानका लागि जेठ २४ गतेदेखि नै फोहोर उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

यस्तै साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने पनि बताइएको छ । सहमतिपत्रमा शहरी विकास मन्त्रालयकोतर्फबाट बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तर्फबाट लोकनाथ पौडयाल र धुनिबेंसी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७