अब कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले उठाउँदैन : बालेन्द्र शाह


२४ जेष्ठ २०७९, मंगलवार
Balen Shah

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनमा सहयोग गर्न महानगरबासीलाई आग्रह गरेका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै मेयर शाहले अब कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याइ दिन आग्रह गरेका हुन् । ‘यो सबैका लागि निःसन्देह खुशीको खबर हो ।

अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौं, कोठाभित्र वा घरमा वा सडकमा जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ’, उनले सन्देशमा लेखेमा छन् ।

उनले यसरी नछुट्याइ राखिएको फोहोर महानगरपालिकाले संकलन नगर्ने र फर्काई दिने बताएका छन् । उनले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभइ अझैं धेरै गर्न बाँकी रहेको बताएका छन् । ‘फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेरे हुँदैन’, उनले भनेका छन् ।

मेयर शाहले फोहोर व्यवस्थापन नगरबासीको साथ बिना नहुने भन्दै कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टयाएर राखिदिन आग्रह गरेका छन् । यसरी कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुने उनले भनाइ छ ।

‘अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।’

फोहोर व्यवस्थापन चाँडो भए स्वच्छ र स्वस्थ काठमाडौंमा कसैले रोगी भएर बाँच्नु वा मर्नु नपर्ने उनको भनाइ छ । मेयर शाहले अब महानगरले पहिलेका कमजोरी वा गल्तीहरु नदोहोर्‍याउने बताएका छन् । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने र महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ती नगर्ने उनको भनाइ छ ।

मेयर साहले लेखेका छन्, ‘तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइ दिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौं तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७