मनाङमा चिकित्सक अभाव


२५ जेष्ठ २०७९, बुधबार
manang health post

मनाङ । हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ । सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन् ।

अहेवको भरमा जिल्ला अस्पताल छोड्दा सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यान समेत जाने गरेकोे गुनासो स्थानीयवासीले गरेका छन् । उपचारका लागि अस्पताल पुग्नुभएका स्थानीयवासी लक्ष्मण गुरुङले उपचार हुनेभन्दा झन् बढी पीडा थपिने गरेको गरेको गुनासो गरे ।

‘अस्पतालमा चिकित्सकको दरबन्दी भए पनि उपलब्ध हुँदैनन् । यहाँ सामान्य उपचार पनि नपाउँदा लामो दूरी पार गरेर छिमेकी जिल्ला पुग्नुपर्ने बाध्यता छ । अब त झन बर्खा लाग्यो । मौसमको समेत भर हुँदैन उपचार गर्न कसरी पुग्न सकिन्छ खै ?’, उनले भने ।

केही समयअघि मात्र जिल्लामा नेपाल प्रहरीका हबल्दार अकस्मात लड्दा उपचारको अभावमा उनको मृत्यु भएको थियो भने अर्का सशस्त्र प्रहरीका जवानको पनि भिरबाट लडेर तत्काल उपचार नपाउँदा मृत्यु भएको थियो । बिरामीलाई अस्पताल लग्यो चिकित्सक छैन । जिल्ला अस्पतालमा आवश्यक चिकित्सक नहुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सर्वसाधारणको दुःखद घटना बढेको छ ।

मनाङवासीले भौगोलिक विकटता, मौसमको प्रतिकूलताका साथै जिल्लाको एक मात्र अस्पतालमा आवश्यक जनशक्ति र उपकरण अभावले अकालमै ज्यान गुमाइरहेका छन् । अस्पतालमा समयमै पुर्‍याइए पनि चिकित्सकको अभावले बिरामी बचाउन नसकिएको स्थानीयवासीले बताए ।

सदरमुकाम समेत रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार जनताका हरेक समस्याहरु आफूसम्म आइपुगे पनि प्रदेश तथा सङ्घीय सरकारबाट उचित पहल नहुँदा उनीहरुको जीवनमाथि नै खेलबाड भइरहेको महसुस भएको बताए ।
‘मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सञ्चालन गरिरहेको र अस्पतालमा तीनजना चिकित्सकको दरबन्दी छ भन्ने सुनिएको हो तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवश्यक पर्दा एकजना पनि चिकित्सक उपलब्ध नहुनु विकटका जनताको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार रहेको प्रस्ट देखिएको छ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्ला अस्पतालमा कोभिड दरबन्दीमा चिकित्सकको पद रिक्त रहेको र हाल एकजना मात्र चिकित्सक जिल्लामा रहेको हुनाले नागरिकले खोजेको बेलामा चिकित्सक उपलब्ध नभएको बताए । ‘भएका एक चिकित्सक पनि बिदामा रहेकाले जिल्ला अस्पताल चिकित्सकविहीन हुनु स्वाभाविक मान्नुपर्छ’, उनले भने ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराको वेबसाइटबाट अरू जिल्लाका विवरणहरु हेर्दा मनाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू र तिनमा कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको कुनै विवरण उपलब्ध भएको पाइँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७