लोसपा पार्टी एकतामा आए स्वागत गर्न तयार छौं : उपेन्द्र यादव


२५ जेष्ठ २०७९, बुधबार
Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोसपालाई पार्टी एकताका लागि आग्रह गरेका छन् । जसपाबाट महन्थ ठाकुरको समूह फुटेर जाँदा घाटा भएको बताउँदै उनले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

बुधबार बिहान जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो कुरा बताएका हुन् । ’ओलीको भड्काउमा हिजो जसपाबाट महन्थ ठाकुर नेतृत्वमा एक समूह फुटेर जानु भयो । आज समीक्षा गर्ने समय छ, पार्टी फोडेर कसलाई के फाइदा भयो ? जनमत बाँडिदा मधेसी जनतालाई नै घाटा भएको छ । त्यसैले यो विभाजनको औचित्य म आज देखिरहेको छैन’, अध्यक्ष यादवले भने, ‘आउनुस् अहिले पनि समय छ । फुटेर हैन जुटेर अघि बढौं । यदि जुटेर अगाडि बढ्न लोसपाका साथीहरु तयार छन् भने हामी खुला हृदयले स्वागत गर्न तयार छौं ।’

उनले खर्चिलो र लामो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘निर्वाचन प्रणाली खिचडी जस्तै छ । गलत निर्वाचन प्रणाली भएकोले अत्यधिक खर्चिलो, अनेक विकृतिमय छ । त्यस कारण यो निर्वाचन प्रणाली परिवर्तन हुनु आवश्यक छ’ अध्यक्ष यादवले भने ।

उनले अहिले नागरिकताको समस्या अविलम्ब समाधान गर्नु पर्नेमा जोड दिए । अहिले पनि लाखौं जन्मसिद्ध नागरिकका सन्तान नागरिकताबाट वञ्चित रहेकाले तिनीहरुको समस्या समाधान र आगामी निर्वाचनमा मतदानको अधिकारको लागि अब बस्ने संसदबाट नागरिकता विधेयक पास गरी पारित गर्नु पर्ने बेला आएको बताए । यादवले आगामी निर्वाचनको लागि पनि पाँच दलीय गठबन्धन मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७