काठमाठौंको फोहोर व्यवस्थापनबारे एमालेले माग्यो मन्त्रीको जवाफ


२५ जेष्ठ २०७९, बुधबार
gopalkrishna

काठमाडौँ । प्रतिनिधिसभाको आज (बुधबार) को वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले काठमाडौंको फोहोर व्यवस्थापनबारे भइरहेका कामबारे शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्धित भइरहेको भन्दै फोहोर उठाउने र व्यवस्थापन गर्नेबारे के काम भइरहेको छ भन्दै प्रश्न गरेका छन् । उनले प्रत्येक ५०-५० मिटरमा फोहोरको डंगुर र थुप्रो भइरहेको भन्दै जवाफ माग गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय नियोगमा पनि बदनाम भइसकेको छ । कूटनीतिक नियोगहरूले काठमाडौं दुर्गन्धित भएकाले सम्भावित संक्रमणबाट जोगिनका लागि अनावश्यक रूपमा शहर बजारमा ननिस्किन आन्तरिक सर्कुलर गरेको मैले बुझिरहेको छु,’ उनले भने ।

काठमाडौंका जनताले धैर्यता गरे जस्तै सरकारले समयमा ख्याल गर्नुपर्ने बताए । ‘फोहोर आतंकमा पनि जनताले धैर्य गरिरहेका छन्,’ उनले भने, ‘यस विषयमा सरकारले के हेरिरहेको छ ? तत्काल फोहोर उठ्छ कि उठ्दैन ? यस विषयमा तालुकदार मन्त्रीको जवाफका लागि सभामुखबाट रुलिङ चाहन्छु ।’

काठमाडौंको फोहोर उठाउने तालुकदार मन्त्रालय शहरी विकास मन्त्रालय हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संसदमा जवाफ दिनुपर्ने एमालेका काठमाडौंबाट निर्वाचित सांसद श्रेष्ठको माग थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७