अछाम घटनाका दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

पाँच दिनसम्म उठेन शव, प्रहरी भन्छ, ‘अनुसन्धानमा सहयोग पाएनौ’


२५ जेष्ठ २०७९, बुधबार
agni sapkota Parliment house samsad bhawan scaled

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेव नगरपालिकाका विनोद शाहीको मृत्यु भएको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले घटनाका दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकको विशेष समयमा बोल्दै सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्यु भएको घटनाको प्रहरीले जाहेरी समेत लिन नमानेको भन्दै सभामुख सापकोटामार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सभामुख सापकोटाले सांसद बोगटीले उठाएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् । उनले भने, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकरषण गराउनु चाहन्छु । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १७ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएका थिए । उनी जेठ १७ गते वेपत्ता भएर गत शनिबार बिहान घरनजिकैको जंगलमा मृत भेटिएका थिए । घटनाको अनुसन्धान हुनुपर्ने भन्दै स्थानीय आन्दोलित छन् ।
पाँच दिनसम्म उठेन शव, प्रहरी भन्छ, ‘अनुसन्धानमा सहयोग पाएनौ’
अछाममा विनोद शाही मृत भेटिएको पाँच दिनसम्म पनि घटनास्थलबाट शव उठ्न सकेको छैन । स्थानीयले दोषी पक्राउ नगरेसम्म शव उठ्न नदिने अडान लिएपछि यस्तो अवस्था आएको हो । १० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका-४ का शाही २१ गते शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेला परेका थिए ।

अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । एसएसपीको कमाण्डमा पनि प्रहरी टोली खटिएको छ । पञ्चदेवल विनायक-४, कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट एक किलोमिटर टाढा जंगलमा उनको शव फेला परेको थियो । घटनास्थलबाट केही पर शव राखिए पनि पोस्टमार्टमका लागि प्रहरीले शव उठाउन दिएका छैनन् । पोस्टमार्टम नहुँदा प्रारम्भिक अनुसन्धानका लागिसमेत कठिन भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

आफन्त र स्थानीयले उनको हत्या भएको दाबी गर्दै आएका छन् । प्रहरीले मृतकको मोबाइललगायत अन्य विषयमा प्राविधिक अनुसन्धान समेत गरिरहेको छ । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘शव कुहिन थालिसकेको छ । पोस्टमार्टम भएको भए केही कुरा खुल्न सक्थ्यो । दैनिक स्थानीयले आन्दोलन गरिरहेका छन् । घटनालाई राजनीतिसँग जोड्न खोजिएको छ । यस्तो अवस्थामा प्रहरीलाई अनुसन्धान गर्न असहज हुन्छ ।’

स्थानीय तह निर्वाचनका बेला कालिकास्थानमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । मृत भेटिएका किशोर एमाले समर्थकका आफन्त हुन् । उनका आफन्तले घटनामा कांग्रेस नेता-कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७