कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’


३० आश्विन २०७४, सोमबार
kamal thapa

काठमाडौं‌ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शनिबार नवौँपटक सत्तारोहण गरेका छन् । साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधानमन्त्रीको सपथ लिएसँगै थापा नवौँपटक मन्त्रीको कुर्सीमा आसीन भएका हुन् ।आजको नयाँ पत्रिकमा खबर छापिएको छ ।

kamal thapa

राष्ट्रपति भण्डारीले थापासँगै अन्य तीनजनालाई मन्त्रीको सपथ दिलाएकी छन् । राप्रपा सांसदत्रय जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले मन्त्रीको सपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाबाट थापालाई उपप्रधानन्त्री, चन्द, गिरी र विक्रमबहादुर थापालाई मन्त्री र कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन ।

थापाको ‘मुसा प्रवृत्ति’

देउवा पहिलोपटक प्रधानमन्त्री भएको वेला थापाले कानुन, न्याय, तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्री बन्ने यात्रा सुरु गरेका थिए । थापाले विगतमा आफू मन्त्री भएकै वेला संसद्मा पुगेर आफ्नो प्रधानमन्त्रीविरुद्ध मतदानसमेत गरेका छन् । थापा १८ असोज ०५४ मा राप्रपा–एमाले गठबन्धन बनेर प्रधानमन्त्री बनेका आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।

तर, चन्द नेतृत्वको सरकारविरुद्ध राप्रपाकै सूर्यबहादुर थापा समूहले कांग्रेसको समर्थनमा अविश्वास प्रस्ताव पेस ग¥यो । कांग्रेसले सूर्यबहादुरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमति जनाएको थियो । थापाले प्रधानमन्त्री चन्दविरुद्ध मत हाले । आफ्नै मन्त्रीले आफूविरुद्ध संसद्मा मत हालेपछि चन्दले संसद्लाई सम्बोधन गर्दै ‘मुसा प्रवृत्ति’ को कुरा उठाएका थिए ।

  1.  शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ ०५२ देखि २९ फागुन ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री
  2. लोकेन्द्रबहादुर भन्द नेतृत्वको सरकारमा १२ चैत ०५३ देखि २१ असोज ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री
  3.  सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज ०५४ देखि २७ असोज ०५४ सम्म परराष्ट्र र कृषिमन्त्री
  4. सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म परराष्ट्रमन्त्री
  5. सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा २८ जेठ ०६० देखि २८ जेठ ०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री
  6.  तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री
  7. केपी ओली नेतृत्वको सरकारमा २५ असोज ०७२ देखि २० साउन ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री
  8. पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन ०७३ देखि २२ चैत ०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री
  9.  शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज ०७४ मा उपप्रधानमन्त्री नियुक्त

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७