मन्त्री फेर्ने हाम्रो निर्णयले अरु पार्टीमा भूकम्प गएछ : माधव नेपाल


२५ जेष्ठ २०७९, बुधबार
madhav nepal1648193490

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा सहभागी आफ्नो दलका मन्त्री सहमतिमै फेर्ने निर्णय भएको स्पष्ट पारेका छन् ।

समाजवादी निकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन् । यसअघि भएको सहमति अनुसार ६ महिनामै फेर्नुपर्नेमा दुई महिना थप बस्न दिएर नयाँलाई अवसर दिने निर्णय पार्टी सचिवालयले गरेको पनि उनले बताएका छन् ।

‘हामीले मन्त्री फेरेका छौं । असोजमा नियुक्त भएकाहरुलाई ६ महिनाको अवधि दिइएको थियो । सहमति नै हामीले ६ महिनाका लागि गरेका हौँ’, उनले भने, ‘हाम्रो पार्टीबाट मन्त्री भएकामध्ये जस-जसले राम्रो काम गरेकोमा धन्यवाद भनेका छौँ। उनीहरुले पनि पार्टीको निणर्यभन्दा दायाँ बायाँ गर्दैनौँ भनेका छन् । कुर्सीमा टाँसिएर बस्दिन भनेका छन् ।’

यो भनाइ पार्टी निणर्यविपरीत मन्त्री पद जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको चर्चा भएका पर्यटन मन्त्री प्रेम आलेतिर लक्षित थियो । आलेले मंगलबार मात्रै पशुपतिमा पुगेर आफूले मन्त्री पद जोगाउन चलखेल नगरेको स्पष्टीकरण दिँदै पार्टीको निणर्य मानेर बाहिरिन तयार रहेको बताएका थिए ।

‘मैले कुनै मन्त्रीमाथि आरोप लगाएको छैन । सबै मन्त्री हाम्रो पार्टीको आदेश अनुसार चल्छन्’, उनले भने, ‘तर हाम्रा महासचिव (वेदुराम भुसाल) ले पनि मन्त्रीहरुले निणर्य मान्छन् भन्नु पथ्र्यो । तर मानेनन् भने के गर्ने भनिदिएछन् । त्यसले गर्दा अलिक कुरो बिग्रियो । हामीले बोल्दा ख्याल गर्नुपर्छ, नत्र बनेको कुरो पनि बिग्रिन्छ ।’

उनले मन्त्रीहरूमाथि आशंका गर्दा उनीहरुको चित्त दुख्ने पनि बताए । ‘अनावश्यक आशंका गर्दा चित्त दुख्छ । हामीले पार्टीको आदेश मान्छौँ भन्दा भन्दै मानेनन् भन्दा उनीहरुको मन दुख्छ’, उनले भने, ‘पार्टीले निणर्य गर्‍यो, किन निणर्य लागु भएन होला भन्ने भयो । तर कुरो के भयो भने हाम्रो निणर्यले अरु पार्टीमा पनि भूकम्प गयो ।’

समाजवादीको निणर्यले कांग्रेस, माओवादी र जनता समाजवादीमा पनि मन्त्री फेर्ने दबाब परेको संकेत गरेका छन् । ‘हाम्रो निणर्यपछि अरु दलमा पनि भूकम्प गएछ । अनि उनीहरुले हामीलाई पनि समय दिनुस् भनेका होलान्’, उनले थपे, ‘त्यही भएर मन्त्रीको शपथ नभएको हो । तर अब हाम्रो निणर्य भइसकेकाले लागु हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७