मेयर बालेन्द्रसँग फ्रान्सका राजदूतको भेट, नगर सेवा व्यवस्थापनबारे छलफल


२५ जेष्ठ २०७९, बुधबार
balendra french22 KhpHSvFhTA

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन्द्र) सँग फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट गरेका छन् । प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण मुख्य विषय रहेको महानगरपालिकाले जनाएको छ ।

‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ । फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ’, प्रमुख शाहले भने, ‘विकासको आगामी दिशा प्रक्षेपण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यका कार्यक्रम समेत तय गर्ने प्रणाली विकास गर्दै छौं ।’

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने बताए । त्यस क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए ।

‘फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ’, राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधार विषयमा भने, ‘काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केवुल कार उपयोगी हुन्छ । अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ । मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’ कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केबलकार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७